कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेतले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि वितरण गरेको हो । कोरोना संक्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बृद्धिसँगै संक्रमण रोक्न आयुर्वेद औषधि वितरण गरिएको प्रदेश आयुर्वेद औषधालयका वैद्य निरिक्षक दिपेन्द्र कँडेलले जानकारी दिए ।उनले प्रदेश अस्पतालसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा आफूहरुले काम गरिरहेको जनाए ।
‘स्थानीय जंगलमा उपलब्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएका हौं ।’ आइतबार कोरोना विशेष अस्पतालमा रहेका कोरोना संक्रमितसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी करिब १०० जनालाई गुर्जोबाट बनेका औषधि एवं च्यवनप्राश वितरण गरिएको वैद्य निरिक्षक कँडेलको भनाई छ। उनले क्वारेन्टिनमा रहेका नागरिकलाई समेत रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीसँगै मानसिक तथा शारीरिक व्यवस्थापनका लागि योग प्रणायाम, ध्यानका अभ्यास समेत आफूले सिकाउने गरेको जानकारी दिए ।