स्वास्थ्य राज्यमन्त्री ज्यु, कर्णाली प्रति हेर्ने सरकारी दृष्टिकोण फेरिएन’

जुम्ला – स्वास्थ्य राज्यमन्त्री नवराज रावत संग जुम्लाबासीले कर्णाली प्रति सरकारी दृष्टिकोण नफेरिएको गुनासो गरेका छन् । जुम्लाको तिला गाउँपालिकामा निर्माण हुन लागेको १० शैया अस्पताल शिलान्यास गर्न जुम्ला पुगेका स्वास्थ्य राज्यमन्त्री रावत संग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अवलोकनका क्रममा जुम्लाबासीले सरकारी दृष्टिकोण नफेरिएको गुनासो गरेका हुन् । उनीहरुले कर्णाली प्रतिको दृष्टिकोण नफेरिदा यहाँको स्वास्थ्य क्षेत्र अघि बढ्न नसकेको बताएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापाले यहाँको समग्र विकासको लागि विधि र प्रक्रियामा छिर्दा पनि आश्वासन मात्र पाइने गरेको अनुभव सुनाए । उनले भने,‘आश्वासन धेरै दिने र कार्यन्वयन कम गर्ने परिपार्टीले कर्णालीको विकास हुन सकेन् । यसको अर्थ कर्णाली प्रति हेर्ने दृष्टिकोण नफेरिनु नै हो । ’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्नु पर्ने कार्यको डिपिआर तयार गरि सिनेटबाट पास गरि सक्दा पनि काममा आलटाल भइरहेको जानकारी दिए । कर्णाली विज्ञहरुको नजरमा राम्रो देखिदैन् । हरेक हिसावले संभावना बोकेको कर्णाली नै सरकारी प्राथमिकतामा नपर्नु दुखद पक्ष हो ।
पुर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले केन्द्रले कर्णालीका आवश्यकतालाई प्राथमिकताका साथ हेर्न नसकेको बताए । उनले भने,‘केन्द्रबाट जुम्ला पुग्दा सबै मन्त्री प्रधानमन्त्रीले जुम्लीका हरेक आवश्यकता संवोधन हुन्छ भन्छन्,फिर्ता भइसकेपछि कर्णाली तिर एक नजर पनि हेदैन् । अहिले सम्म कर्णालीले भोग्दै आइराखेको बिडम्वना यही हो । ’

राज्यमन्त्री रावत तिर इंगित गर्दै पुर्वराज्यमन्त्री महतले जुम्ला रहँदा सम्म एसबहादुर र फर्किसकेपछि नोबहादुर भन्ने परिपार्टी अन्त्य हुनु पर्नेमा जोड दिए । उनले भने,‘स्वास्थ्य राज्यमन्त्री ज्युले काठमाण्डौँ फर्किसकेपछि पनि एसबहादुरको भुमिका निर्वाह गर्नुहुनेछ । जुम्लाबासीले यही आशा गरेका छौँ ।

स्वास्थ्य राज्यमन्त्री रावतले कर्णालीको समग्र विकासको लागि साथ दिने बताए । उनले भने,‘तपाई काम गर्नुस, हामी साथ र सहयोग गर्छौ ।’ मन्त्री रावतले प्रचुर सम्भावना बोकेको यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई शिक्षाको स्तरमा कमि कमजोरी हुने क्रियाकलाप नगर्न आग्रह गरे । भौतिक संरचनाले मात्र नाम रहदैन्,‘राज्यमन्त्री रावतले भने,‘ दिलोज्यान दिएर यो प्रतिष्ठानलाई कामको साथसाथै गुण स्तरिय शिक्षाको आर्जन गर्ने वातावरण मिलाउनुहोला । ’ स्वास्थ्यका लागि दक्ष जनशक्ति उत्पादन भएमा मात्र यो प्रतिष्ठानको औचित्य रहने स्वास्थ्यमन्त्री रावतले बताए ।

तिला गाउँपालिकामा १० शैयाको अस्पता शिलान्यास
यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पतालको शिलान्यास गरेका हुन् । शिलन्यासका क्रममा मन्त्री रावतले नेपाल सरकारले कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण गरिएको बताए ।

नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सडक विस्तार पूर्वाधार व्यवस्थापन अति आवश्यक रहेको मन्त्री रावतको भनाई छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दीर्घकालीन, मध्यकालीन अल्पकालीन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उल्लेख गरे । तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरीय स्वास्थ्यमा अझै समस्या रहेको बताइन् । गाउँपालिकामा १० शैयाको अस्पताल बन्ने भएपछि स्थानीय निकै खुसि छन् ।