बराहताल गाउँपालिका प्रमुख भन्छन्, ‘स्वास्थ्य सेवाको पहुँचबाट नागरिक बञ्चित छैनन्’

 

 सुर्खेतको बराहताल गाउँपालिका साविकका पाँच वटा गाविस मिलेर बनेको हो । हाल १० वडा रहेको यस गाउँपालिकाले सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्यकर्मी परिचालन कार्यलाई तीब्रता दिएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा दुर्गम मानिने यस गाउँपालिकाभित्रका सबै बस्तीमा गर्भवती तथा सुत्केरी आमालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम सञ्चालन भएका छन् । कोरोना माहामारीको बेला पनि सक्रिय भूमिका खेलेको यस पालिकाका नागरिकको स्वास्थ्यप्रति आफूहरु चिन्तित भएको अध्यक्ष तेजबहादुर बस्नेतको भनाइ छ । सबै नागरिकलाई सहज स्वाथ्यको पहुँचमा ल्याउन आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गरिने उनले बताए । सत्यपत्रिकाका लागि चन्द्रा कँडेलले अध्यक्ष बस्नेतसँग गरेको कुराकानीः

 

गाउँपालिकामा तपाईं निर्वाचित हुनु अगाडि र अहिलेको स्वास्थ्य क्षेत्रको अवस्थाबारे बताइदिनुहोस् न ?

बराहताल गाउँपालिका साविकका पाँच वटा गाविस मिलेर बनेको छ । साविकका प्रत्येक गाविस दुई—दुई वडामा विभाजित छन् । अहिले १० वटै वडाबाट स्वास्थ्य सेवा प्रदान भइरहेको छ । साविकका पाँच गाविसमा एक—एक वटा स्वाथ्यचौकी थिए । बाँकी पाँच वटा वडामा हामीले स्थानीय तहबाट विज्ञापन गरेर स्वाथ्यकर्मीको व्यवस्थापन गरी सेवा प्रारम्भ गरेका छौं ।

 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन के कस्ता प्रयास भएका छन् ?

हामी निर्वाचित भएपछि स्वास्थ्यमा भएका सुधारहरुमध्ये विशेष गरी १० वटै वडामा स्वाथ्यकर्मी राख्न सफल भयौं । यसका साथै गर्भवती तथा सुत्केरी आमाहरुलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु गरेका छौं । जस्तैः स्वास्थ्यको पहुँचमा आउन नसक्नेका लागि विभिन्न सुविधाहरु थप गरेका छौं । जसले गर्दा स्वाथ्य केन्द्रमा आएर स्वास्थ्य जाँच गराउने, आफ्नो गर्भ जाँच गर्ने, बच्चाको नियमित तौल लिने कार्य गर्नुभएको छ । यसका साथै जो लामो दीर्घ रोगका बिरामी हुनुहुन्छ, उहाँहरुलाई पालिकाको सिफारिसमा निःशुल्क उपचार पनि गर्ने गरेका छौं । यस्तै सेवाको पहुँचबाट बाहिर रहेकाहरुको लागि स्वास्थ्य बिमाको पनि व्यबस्था गरेका छौं ।

 

जनताको स्वास्थ्य सुधारका लागि तपाईंले चाहेर पनि गर्न नसकेको काम के हुन् ?

चाहेर पनि गर्न नसकिएका केही कुराहरु छन् । जस्तैः ठूला–ठूला शल्यक्रिया गर्नुपर्ने अवस्थामा आर्थिक अभाव हुन्छ । तर, हाम्रो इच्छाले चाहेर पनि गाउँपालिकाका नागरिकहरुको उपचार गर्न सकिएको छैन । भावी योजना गाउँपालिकामै शल्यक्रिया गर्ने व्यवस्थासहितको सुविधा सम्पन्न अस्पताल बनाउने छ ।

 

बाल स्वास्थ्य र मातृ स्वास्थ्यको अवस्था कस्तो छ ?

बाल स्वास्थ्यको अवस्थामा पनि समय–समयमा स्वाथ्य चौकी अथवा खोप केन्द्रहरुमा मासिक, चौमासिक रुपमा स्वाथ्यकर्मीहरुले आमाहरुमार्फत बालबालिकालाई जम्मा पारेर स्वास्थ्य जाँच गर्ने, तौल लिने काम गर्ने गरिएको छ । समयमै खोप दिने भिटामिन खुवाउने काम पनि चलिरहेको छ । यसका साथै विद्यालयहरुमा पनि स्वाथ्यकर्मी गएर बच्चाको स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सल्लाह दिने गर्नुभएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा कुषोषणको दर बढी छ । त्यसैले सन्तुलित आहार बिहार र जीवनशैली अपनाउनुपर्छ भन्ने सन्देश दिने गरेका छौं ।

 

सबै जनताले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् ?

यसका लागि सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेर आवश्यक जनशक्ति खटाएका छौं । त्यस अर्थमा सबैले आधारभूत स्वास्थ्य सेवा पाउनु भएको छ । तर, भूगोलको हिसाबले यो दुर्गम क्षेत्र हो । त्यस कारण कुनै—कुनै टोलका नागरिक सहज स्वास्थ्य सेवाबाट बञ्चित होलान् । तर, आधारभूत स्वास्थ्य सेवाबाट हाम्रो पालिकाका कुनै पनि नागरिक बञ्चित छैनन् । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन पालिका लागि परेको छ ।

नागरिकमा स्वास्थ्य सम्बन्धि चेतना स्तर कस्तो छ ?

अहिले कोरोना माहामारीले गर्दा पनि नागरिकमा स्वास्थ्य सम्बन्धि चेतनास्तर वृद्धि भएको छ । पहिलेको तुलनामा हाल सरसफाई र सामाजिक दुरीजस्ता कुरामा पनि नागरिक सचेत छन् । पहिलेको जस्तो बिरामी पर्दा घरमै उपचार नपाएर बस्नुपर्ने अवस्था छैन । सबैले नजिकैका स्वाथ्य केन्द्रबाट सेवा लिइरहेका छन् । हरेक नागरिक आफ्नो स्वास्थ्यबारे सचेत भए भने हामीलाई काम गर्न सहज हुन्छ भन्ने अपेक्षा छ ।