जुम्ला – देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ ।
जुम्लामा पनि राजाबादीहरुले मोटरसाइकल रयाली निकालेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै शक्ति प्रर्दशन गरेका हुन् । राष्ट्रबादी जुम्ली समुहको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा अधिकांस नेकपा र नेपाली काँग्रेसका युवा सहभागि थिए ।
प्रदर्शनका क्रममा राजा आउद देश बचाउ,हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ जस्ता नारा लगाएका थिए । राजाबादीहरुको प्रदर्शनलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो ।राप्रपा नेपालका जुम्ला उपाध्यक्ष अंगत देवकोटा बर्तमान अवस्थामा राजा अपरिहार्य भएको बताउँछन् । उनले भने,‘संघीयताका नाममा जन्मिएका सयौँ टुक्रे राजाहरुले देश डुबाइसकेका छन् । अब जनताले एउटै राजा चाहेका छन् । राजतन्त्रको विकल्प छैन् । ’
उनले राजाकालमा कानुनको पुर्ण परिपालना हुने गरेको र अनुशासन र सुशासन बलियो भएको स्मरण गराउदै अहिले देशको परिस्थिती नै भद्रगोल भएको बताए । उपाध्यक्ष देवकोटाले भने,‘ अहिलेका केन्द्रका राजालाई देश लुट्नै ठिक्क छ । प्रदेश स्तरका राजालाई झण्डा हल्लाउदै र कमिसनको खेल खेल्दै ठिक्क छ । स्थानीय सरकारका राजा त झन जनतालाई खसीबोका नै सम्झन्छन् । जहाँतही छाडापन छ । हत्याहिंसा, बलात्कार छ । उल्टै राजाहरु नै यस्ता कार्यमा सक्रिय देखिन्छन । ’
सत्ताका नाममा फैलिइरहेको लुटतन्त्रले देशको अवस्था भयाभह हुदै गएको राजाबादीहरु बताउँछन् । प्रदर्शनका क्रममा राजन्तत्रको विकल्प नभएको बारेमा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले पनि अहिलेको व्यवस्थामा संकट आउन सक्ने जुम्लाका अगुवाहरु बताउँछन् । नेकपा सरकार देशविकासमा भन्दा आफ्नो आन्तरिक खिचातानीमै रुमल्लिएको छ । काँग्रेस प्रतिपक्षका नाममा मौन देखिन्छ । एक जना राजाबादीले भने,‘डुबिसेको देशलाई उकास्नको लागि एक पटक राजतन्त्रको जरुरत छ । अब संघीयताका राजा प्रतिको विश्वास घटिसकेको छ । देशले यी राजाहरुको खर्च थेग्न सक्दैन् ।
मोटरसाइकल र्याली जिल्लाको बसपार्क नजिकैबाट शुरु भएर टुडिखेल हुदै जुम्ला विमानस्थलमा पुगेर बालमन्दिरमा पुगेर सकिएको थियो । आफुहरुको प्रदर्शन शान्तिपुर्ण भएकोले कसैले हस्तक्षेप गर्न नसक्ने राजाबादीहरु बताउँछन् । प्रदर्शनमा झण्डै १ सय ५० जना सहभागि रहेको उपाध्यक्ष देवकोटाले बताए । संवैधानिक राजसंस्था र हिन्दु राष्ट् पुर्न स्थापनाको लागि आन्दोलन थालेको राजाबादीहरु बताउँछन ।