स्वाब थन्किएपछि सुदूरपश्चिम प्रदेशमा नमूना संकलन कार्य स्थगित

धनगढी—सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणको आशंका गरिएका र मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गरिएको छ ।

धनगढीमा रहेको प्रदेशको एक मात्रै कोरोना परीक्षण प्रयोगशालामा यसअघि संकलन गरिएका थ्रोट स्वाबको नमूनाकै परीक्षण गर्न बाँकी रहेकोले कम्तीमा पाँच दिनसम्मका लागि थ्रोट स्वाबको नमूना संकलन कार्य स्थगित गर्नु परेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाको क्षमताभन्दा बढी नमूना आएपछि पाँच दिनसम्मका लागि नमूना संकलन कार्य रोक्न स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेशभरका सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको उनको बताए । स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेपनि अहिले प्रदेश भरबाट संकलित एक हजार भन्दा बढी व्यक्तिहरुको थ्रोट स्वाबको नमूना परीक्षण गर्न बाँकी रहेको छ । विभिन्न स्थानीय तहहरुले भिटिएम खरिद गरी शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर प्रयोगशालामा पठाउने गरेका छन् ।