सरकारको नयाँ निर्देशिका : क्वारेन्टाइनमा बसेका सबैको पीसीआर परीक्षण नगरिने

काठमाडौं—सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना भाइरस (कोभिड—१९) परीक्षण पीसीआर विधिबाट नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको नयाँ निर्देशिकाअनुसार कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुको पिसिआर विधिबाट परीक्षण गरिने छ । मन्त्रालयले देशभर परीक्षणको स्याम्पल डम्प भएपछि नयाँ निर्देशिका बनाएको हो । निर्देशिकाअनुसार आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखिएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएमा उनीहरुको पनि पीसीआरबाट परीक्षण गरिने छ । क्वारेन्टाइनमा बसेकाको पनि पीसीआर परीक्षण नगरेर १४ दिनपछि उनीहरूलाई आरडीटी विधिबाट परीक्षण गरिने निर्देशिकामा उल्लेख छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका सबैको स्याम्पल प्रयोगशालामा पुगेर थन्किए भएपछि यस्तो निर्देशिका जारी गरिएको हो । अहिलेसम्म झण्डै डेढ लाखभन्दा बढी क्वारेन्टाइनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण उपकरणको अभाव छ । जसका कारण पिसिआर परीक्षणमा समस्या आएको छ ।