समाज जुम्ला मालपोतमा सुविधा भन्दा सास्ती धेरै

जुम्ला – पछिल्लो समयमा जिल्ला मालपोत कार्यालय जुम्लामा सेवा सुविधा भन्दा पनि सास्ती धेरै हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । उनीहरुले मालपोतको कामका लागि महिनौँ सम्म सदरमुकाम खलंगामै बस्नु परेको दुखेसो गरे । गुठीचौर गाउँपालिका–४ खल्लावाडाका धनकृष्ण कुमाइले मालपोत कार्यालयमा धाउँदै दिकदार भईसकेको अनुभव सुनाए । दाजु भाइको जग्गा भागबण्डा गरि लालपुर्जा लिएर मोड कायम गर्न पनि निकै कठिन भइरहेको उनले बताए ‘कार्यालय धाउन थालेको झन्डै महिना दिन पुग्यो । उनले भने,‘ अहिले सम्म न काम भयो । नत सुख पाइयो । दैनिक कार्यालय धाउने मात्रै भयो । सेवा लिन सकिएको छैन् । ’

चिनजान गरेको ब्यक्तिको काम छिट्टै हुनेगर्छ । सर्वसाधारण महिनौ सम्म लाइनमा बस्दा समेत पालो पाइदैन् । दैनिक रुपमा मालपोत कार्यालयमा न्युनतम ५० देखि अधिकतमा ८० / ९० जनाको लाइन बस्छन । मुस्किलले एक दिनमा १० जनाले मात्र सेवा पाउँदै आएका छन् । मालपोतका सेवालाई अनलाइनमा रुपान्तरित गरेपछि सेवा दिन कठिन भएको हो । २०७६ कार्तिक १७ गतेदेखि मालपोतका सेवालाई अनलाईन मार्फत प्रदान गर्न थालिएको थियो । अनलाईन प्रक्रियामा जानुअघि मालपोतको सबै काम लिखित रुपमा हुने गरेको थियो । केन्द्रीय मालपोत विभागले अनलाइन प्रणालीमार्फत गत वर्षबाट काम गर्न थालेपछि सेवाग्राहीलाई झनै सास्ती भएको छ । अनलाईन सेवा मार्फत सेवाग्राहीलाई सेवा दिन सहज होला भन्ने सोचिएको थियो,निमित्त प्रमुख महेन्द्र आचार्यले भने,‘झनै सास्ती हुन थाल्यो ।’

अनलाइन र ढड्डा दुवै तरिकाबाट काम गर्नुपर्छ । अनलाइनबाट छिटोछरितो गर्न पहिला सेवाग्राहीका कागजात सबै कम्प्युटर तथा सफ्टवेयरमा इन्ट्री गर्नुपर्छ । ढड्डामा पनि राख्नुपर्ने भएकाले निकै समस्या भएको मालपोत कार्यालय बताउँछ ।

उनले भने,‘सफ्टवेयरमा इन्ट्री भएका सेवाग्राहीले छिट्टै सेवा पाउँछन । इन्ट्री हुन नसकेका सेवाग्राहीले ढिलो सेवा पाउँछन् । जुम्लामा इन्टरनेटले राम्रो सित काम नगर्ने भएकोले प्रभावकारी कार्य सम्पादन हुन सकेको छैन् । ’अहिले दक्ष जनशक्तिको अभाव छ । कार्य सम्पादन गर्ने कम्प्युटर अपरेटर करारमा एक जना मात्रै छन् । दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भीड लाग्छ । मालपोत कार्यालयमा देखिएको समस्याका बारेमा विभागमा जानकारी गराइसकेको निमित्त प्रमुख आचार्य बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मालपोतको सेवा प्रवाहका विषयमा गुनासो बढेपछि सेवा सहजताको लागि पहल भइरहेको बताउँछन् ।  केही प्राविधिक र जनशक्ति अभाव भएको जानकारी कार्यालय प्रमुख जानकारी दिएका छन्, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ जनशक्ति एवं प्राविधिक समस्या समाधानका लागि भूमि व्यस्थापन तथा अभिलेख विभागका महानिर्देशकज्यूसँग समन्वय भएको छ । तत्काल जनशक्ति व्यवस्थापनको लागि केही कर्मचारी प्रवन्ध हुने गरी व्यवस्था मिलाईएको जानकारी प्राप्त भएको छ । आशा छ, मालपोत कार्यालय जुम्लावाट प्रदान गरिने सेवा प्रवाहमा सुधार हुनेछ ।’

जिल्लाका अन्य सरकारी कार्यालयहरुवाट समेत प्रवाह गरिने सेवा सम्वन्धमा गुनासो भए जिल्ला प्रशासन कार्यालय जुम्ला रहेको उजुरी पेटिका वा प्रशासन कार्यालयको आधिकारीक इमेलमा उजुरी दिन समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।