जुम्लामा सुविधासम्पन्न कोभिड अस्पताल बनाईने

जुम्ला – जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

जिल्ला खेलकुद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उनले बताए । उनले भने, ‘अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो ।’

उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । त्यसैगरी कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ ।

यहाँका सात स्थानीय तहले कोभिड एम्बुलेन्सको भाडास्वरूप चार महिनाकमे रू ८६ हजार रुपैयाँका दरले उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको हो । जुम्लामा कोरोना संक्रमितको संख्या चार सय चार पुगेको छ । तीन सय ७१ जना संक्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।