सुर्खेतका २५ क्रसर उद्योग मापदण्ड विपरीत

सुर्खेत – कर्णाली प्रदेशमा २५ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । गत भदौमा प्रदेश सरकारले क्रसर उद्योगको अनुगमन गर्न गठित उच्चस्तरीय समितिले यस्तो तथ्य पाएको हो  ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वको समितिले कर्णालीका ५ जिल्लाका २६ वटा उद्योगको अनुगमन गरेको थियो  । तीमध्ये एउटा मात्र उद्योग मापदण्डअनुसार चलेको पाइएको समितिले जनाएको छ ।

सुर्खेतमा राष्ट्रिय गौरव आयोजनाका नाममा चार, बालुवा प्रशोधनका ११ र दर्ता १ गरी १६ वटा उद्योगहरू सञ्चालनमा छन्  । दैलेखमा दुइटा आयोजनाका, दुई ढुंगा उत्पादनका, जुम्लामा चार र हुम्लामा दुइटा क्रसर उद्योग सञ्चालनमा छन्  ।

समितिले केही दिनभित्र आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने मन्त्री भण्डारीले जनाए  । मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगलाई कारबाही गर्ने वा आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालन गर्न अनुमति दिने भन्ने विषयमा छलफलपश्चात टुंगो लाग्ने उनको भनाइ छ  ।

यस्तै, सुर्खेतमा सञ्चालितमध्ये १० क्रसर तथा बालुवा प्रशोधन उद्योगले दर्ता तथा नवीकरणसम्बन्धी कागजपत्र जिल्ला प्रशासन कार्यालयमा पेस गरेका छन्  ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले ७७ वटै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएबमोजिम प्रशासनले तीन दिनभित्र दर्ता/नवीकरणसम्बन्धी कागजात पेस गर्न भनेको थियो  ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार भने १२ वटा बालुवा प्रशोधन उद्योग र दुइटा क्रसर उद्योग दर्ता भएका छन्  ।

यी उद्योगहरू साविकका जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमार्फत दर्ता भएका निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले बताए  । उनका अनुसार हालको कार्यालयमार्फत एउटा पनि बालुवा प्रशोधन तथा क्रसर उद्योग दर्ता भएका छैनन्  ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले त्रिशक्ति क्रसर, देउती क्रसर, भेरी एग्रिग्रेट एन्ड सेन्ड रिफाइनरी इन्डस्ट्रिज, न्यु देउती बालुवा मोरङ, मनकामना ह्युमपाइप तथा ब्लग, हिमाल बालुवा प्रशोधन, देउती माता बालुवा प्रशोधन र भेरी बालुवा प्रशोधन उद्योगले कागजपत्र बुझाएको जानकारी दिए  ।

अस्थायी रूपमा सञ्चालित सपना आशिष एन्ड शंकर जेभी, मामा राजेन्द्र श्याम एन्ड शंकर जेभी र महालक्ष्मी किरातेश्वर केएसके जेभीले पनि जिल्ला प्रशासनमा कागजात बुझाएका छन्  । कागजात बुझाएका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योगको स्थलगत रूपमै अनुसन्धान भइरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले शनिबार बराहतालका ५ र आइतबार लेकबेंसी नगरपालिकाका ३ क्रसर तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिएको जनाए  । अनुगमनका क्रममा कागजी प्रक्रिया पूरा गरे पनि कुनै पनि उद्योगले अन्य मापदण्ड पूरा नगरेको पाइएको उनको भनाइ छ  । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।