‘आमा सधै बैठकमा जान्छु भन्नुहुन्थ्यो, तर वडाध्यक्षसँग बिहे गरेर जानुभयो’

गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ: वडाध्यक्ष कुमाई

सल्यान – मंसिर १ गते भाइटिकाको दिन । त्यो दिन उनी भाइटिका लगाउन भन्दै माइत गइन् । तर साँझ फर्किइनन् । त्यो दिनदेखि उनले आफ्नै घरलाइ मनबाटै भत्काएर सधैका लागि अर्को घर रोजिन् । उनी हुन् : सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ गिठाचौर निवासी ४६ वर्षीया गौरी बोहरा । जसले छिमेकी गाउँ स्वराका ५२ वर्षका इन्द्र कुमाइसँग अवैध बिहे गर्न पुगिन् । कुमाइ जननिर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष समेत हुन् ।

 

लेकाली अनलाइनमा खकेन्द्र केसीले लेखेका छन् : यो बिहे सहित वडाध्यक्ष कुमाइको तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले गौरीलाइ पनि श्रीमती थपेर तीनवटी श्रीमती बनाएका छन् । गौरीका ४ छोरा र १ छोरी रहेका छन् भने ३ भाइबहिनी नातिनतिना समेत छन् । उनका ३ वटा छोरा र एउटी छोरीले बिहे समेत गरिसकेका छन् । त्यस्तै, वडाध्यक्षका पनि पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा छन् ।

गौरीका श्रीमान नोखिराम बोहरा भन्छन्, ‘मलाइ पहिला कुनै शंका थिएन्, एक्कासी परपुरुषसँग बिहे गरेको सुन्दा नरमाइलो लाग्यो । अब त उसको माया पनि लाग्न छोड्यो ।’ घरको सबै जग्गा जमिन र पैसा गौरीको नाममा भएकोले उक्त जग्गा र पैसा फिर्ताको लागि आफुले न्याय मागिरहेको उनले बताए ।

‘वडाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको मान्छेले यसरी अर्काको श्रीमती उठाउन नहुने थियो, ‘उनि भन्छन्, ‘अब वडाध्यक्षलाइ त जनताले पनि कुन कुरामा विश्वास गर्नु र रु’ पहिले श्रीमती स्वयमसेविका भएको र वडाका विभिन्न बैठकमा जान्छु भन्दै घरबाट जाने गरेको उनि बताउँछन् ।

बैठकमा जाने गरेको आफुलाइ बताएपनि त्यहिबाट वडाध्यक्षसँग नजिक हुँदै गएको अहिले आएर आफुलाइ थाहा भएको उनको भनाइ छ । त्यस्तै गौरीका छोरा लिलाधर बोहराले अब आमाको आस मरिसकेको बताउँछन् । आमा वडाध्यक्षसँग बिहे गरेर गैसकेपछि आफु बिदेशबाट फर्किएको बताउँदै उनि भन्छन्, ‘म बिदेशमा थिए, यता आमाले बिहे गरेको थाहा पाएपछि आएको हुँ ।’

‘आमा सधै बैठकमा जान्छु भन्नुहुन्थ्यो, तर कहाँ जानुहुन्थ्यो हामीलाइ थाहा हुँदैन थियो, ‘उनले भने, ‘ आमा गाउँको अलि जान्नेमान्ने महिला हुनुहुन्थ्यो, हामीले कुनै शंका गर्दैन थियौं ।’ बुबालाइ भन्दा आमालाइ विश्वास गरेर आफुहरुको सम्पुर्ण कमाइ आमाको नाममा पठाउने गरेको उनि बताउछन् । घरको सबै कारोबार आमाले गर्ने गरेको र जग्गा जमिन आमाको नाममा भएकोले अब त्यो फिर्ता गर्नुपर्ने उनको माग छ । पहिला गाउँमै मिलाउनको लागि छलफल भएकोले कानूनी बाटोमा नगएको उनको भनाइ छ ।

पहिलेका दुइवटै श्रीमतीले दिएनन् उजुरी

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले उनिहरुलाइ पक्राउ गर्न कुनैपनि उजुरी नपरेको बताए । घटनाको बारेमा आफुहरुलाइ पुर्ण जानकारी भएपनि मुद्दा चलाउने आधार अहिलेसम्म कुनै आइनपुगेको बताए । उनले भने, ‘हामी वडाध्यक्षको घरमा गयौं, उहाँ घरबाट भागिसक्नुभएछ । उहाँको दुइवटी श्रीमती हुनुहुन्छ, उहाँहरुलाइ बहुविवाहको उजुरी दिन आग्रह गरियो । तर उहाँहरुले उजुरी दिनुभएन् ।’

उनका दुई श्रीमती सँगै बस्दै आएका छन् । बहुविवाहको मुद्दाका लागि उनकी पत्नीले उजुरी दिनुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघिका दुवै बिहे दर्ता भएको पाइएको डिएसपी थापाले बताए । ‘अब दुईमध्ये एउटी पत्नीले उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘उजुरी आउनसाथ हामी पक्राउ गरेर मुद्दा चलाउँछौं ।’

गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ: वडाध्यक्ष कुमाई

यता वडाध्यक्ष ईन्द्र कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका छन् । उनले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । अनि म बिहे गर्न बाध्य भए ।’ उनले अहिले घटना मिलाउन भन्दै गाउँका जान्नेमान्ने मान्छेलाइ फोन गरेर आग्रह गरिरहेको श्रोतले जानकारी दियो । तेस्रो बिहे गरेपछि उनले सार्वजनिक पदबाट राजिनामा दिएका छैनन् भने वडाका सबै काम रोकिएका छन् ।