कर्णालीमा थप एक जना कोरोना संक्रमितको प्रदेश अस्पतालमा मृत्यु

सुर्खेत – सुर्खेतका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१२ का ३३ वर्षीय युवाको कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षामा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि ति युवालाई बिहीबार साँझ ७ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार अघि बढाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘एन्टेवायोटिकसहितको सहयोगात्मक सबै उपचार गर्दा पनि उहाँलाई बचाउन सकिएन,’ कँडेलले भने, ‘१०४ डिग्री फरेनाइट ज्वरो घटाउन चिकित्सकहरुले अनेक प्रयास गरेपनि कम नभएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।’

ति व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब शुक्रबार विहान ९ बजे लिएको र दिउँसो ४ बजेर २० मिनेटमा रिपोर्ट पोजेटिभ आएको कँडेलको भनाई छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । उनको शव व्यवस्थापन शनिवार मात्रै जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले गर्ने मन्त्रालयले जानकारी दिएको छ ।