कर्णाली राजमार्ग: टालटुलमै सकिन्छ करोडौँ रकम

कालीकोट – कर्णाली राजमार्गमा सडक टालटुलमै बर्सेनी करोडौँ रकम खर्च हुन्छ । नत सडकको स्तरोन्नती हुन्छ नत सरकारको बजेट नै बच्छ । सरकारको लगानी बालुवामा पानी भएको छ, कर्णाली राजमार्गमा । साविकको कर्णाली अञ्चलको विकासको मुख्य मेरुदण्डका रुपमा मानिएको कर्णाली राजमार्ग अर्थात सुर्खेत–जुम्ला सडक खण्डमा बर्सेनी बजेट आउने गरेको छ ।

२०६३ साल चैत ३० गतेबाट सञ्चालनमा आएको राजमार्ग मर्मतका लागि बर्सेनी करोडौँ रकम आए पनि राजमार्गको स्वरुपमा परिवर्तन भने हुन सकेको छैन । कर्णाली राजमार्गको नाममा आउने करोडौँ रकम राजमार्ग टालटुलमै सकिने गरेको हो । राजमार्गको स्तरोन्नती अझै हुन नसकेको नागरिकको गुनासो छ ।

१४ वर्षसम्म पनि कर्णाली राजमार्ग नामाकरण गरिएको सुर्खेत जूम्ला–सडक खण्डको स्तरोन्नती नहुनु आफैमा दुर्भाग्य भएको नागरिकको आरोप छ । राज्य संघीय संरचना पश्चात कर्णालीको विकासका लागि मुख्य मेरुदण्ड मानिएको कर्णाली राजमार्गको अवस्था दिनानुदिन विग्रर्दै गएको नागरिकले गुनासो गरको छन् ।

उसो त कर्णालीका मुख्यमन्त्री कालीकोट जिल्लाको पचालझरना गाउँपालिका निवासी महेन्द्रबहादुर शाही भएपनि कर्णाली राजमार्गको अवस्था उस्तै रहेको छ । नागरिकमा भएको झिनो आशा थियो, कालीकोटबाट कर्णालीको मुख्यमन्त्री भएपछि राजमार्गको स्तरोन्नती हुन्छ भन्ने नागरिकमा आश थियो । तर, त्यो आश पनि मरेको छ ।

कर्णाली प्रदेश सरकारको मातहतमा राजमार्ग नभएपनि प्रदेशले गर्नुपर्ने पहल नगरेको कर्णालीबासीको भनाई छ । त्यो ३ वर्ष वित्न लाग्दा पनि सडक मर्मत नभएको नागरिकले बताएका छन् । सडक मर्मतको लागि करोडौँ वजेट आएपनी राजमार्गका खाल्डाखुल्डी टालटुलमै सकिने र बाटो नबन्ने भएपछि यात्रुले सास्ती खेप्नु परेको छ । साैर्यअनलाइनमा समाचार प्रकाशित छ ।

कर्णाली राजमार्गको स्तरोन्नतीका लागि कालीकोटको दैखोलादेखि जुम्ला सदरमुकाम खलङ्गासम्मका लागि आर्थिक वर्ष २०७६–०७७ मा ३४ करोड रकम आएको भएपनि जम्मा ७ करोड मात्र खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार दैखोलादेखि जुम्लासम्मको १ सय ४ किलोमिटर सडकमा कतै वाल, कतै पिच, कतै आरसीसी गरिएको छ । आर्थिक वर्ष २०७७–०७८ का लागि ३५ करोड रकम आएको प्रमुख भण्डारीले बताए । कर्णाली राजमार्गमा करोडौँ रकम बर्सेनी आएपनि राजमार्गका हालत उस्तै छ । यसमा सरोकारवालको ध्यान जान जान सकेको छैन ।