कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु, विदेशमा १२१, नेपालमा ७ को निधन

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता मृत्यु भएको हो ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ ।

विदेशमा ३४ देशका १४ हजार ४२५ जना नेपाली संक्रमित

संयोजक डा.सापकोटाका अनुसार नेपालबाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ हजार ५ सयभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।