आजदेखि खुलामञ्चमा खाना खुवाउन बन्द

काठमाडौं – आज देखि काठमाडौंस्थित खुलामञ्च तथा सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन बन्द गरिएको छ।

स्वास्थ्य चुनौती र कोरोना सक्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो। काठमाडाैं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच बन्द संरचनाभित्र व्यवस्थित रूपमा सेवा सञ्चालन गर्न केहि दिन अघि सहमति भएको थियो।

सहमतिअनुसार अबदेखि खाना खुवाउन वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क भोजन खुवाउन पाइने छैन्। असहाय, अशक्त र शारीरिक रूपमा काम गर्न नसक्नेलाई मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिकका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।

मानव सेवा आश्रम काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित छ। काठमाण्डौ महानगरपालिकाले पनि सबै सामाजिक संघ संस्थालाई बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ। (थाहाबाट )