नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुुटबलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो खेल खेल्दैछ।

खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ। पहिलो खेलमा पराजित नेपालले आजको खेल कम्तीमा २–० ले जितेमा ट्रफीको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ। मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो।

आजको खेलमा रजिन धिमाल मैदान फर्कने छन्। कोरोना संक्रमण पुष्टि भएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए। बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले मैत्रीपूर्ण खेललाई तयारीका रुपमा लिएको छ।