बंगलादेशमा रहेको नेपाली फुटबल टोली प्रशिक्षणमा व्यस्त

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त बनेको छ ।

पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेल जित्नैपर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि सेख जमल धनमुन्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा बेहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए ।

पहिलो खेलमा भएका कमी-कमजोरी सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए । कोभिडका कारण अभ्यास पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीलाई सच्याउने पनि उनले बताए ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साही छन् । टिममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाइ छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।