तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– महामारीका वाबजुद मुलुकको विकास, समृद्धिको यात्रा छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिँदै कोरोना महामहारीका बीच पनि मुलुकको समृद्धि यात्रा नरोकिएको जिकिर गरेका छन् । यमपञ्चकअन्तर्गत भाइटीकाको दिन बिहानै शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन आह्वान पनि गरेका छन् ।

“महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको छ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश:

तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु । यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा, तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

१ मंसिर २०७७