कर्णालीमा डेंगुको प्रकोप– एक महिनामै ४ सय १७ जनामा संक्रमण

चन्द्रा कँडेल

सुर्खेत– पछिल्लो समय कर्णालीमा डेंगुको संक्रमण ह्वात्तै बढेको छ । एक महिना यता कर्णालीमा डेंगुको प्रकोप दिनप्रतिदिन बढ्दै गएको हो ।

 

एक महिना यता सुर्खेतका मात्रै ४ सय १७ जनालाई डेंगुको संक्रमण भएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा देखिएको कुल संक्रमित मध्ये सुर्खेतका ३ सय ३ जना, दैलेखका ६ जना, जाजरकोटका ३ जना, सल्यानका ४ जना र रुकुमपश्चिमका १ जनामा डेंगु संक्रमण देखा परेको छ ।

 

संक्रमितहरु लामो समयदेखि सुर्खेतमै बसोबास गर्दै आएका छन् । कुल संक्रमितमध्ये ३ सय ४९ जनालाई पछिल्लो दुई हप्ताको अवधिमा संक्रमण भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

 

वीरेन्द्रनगरमा डेंगूको संक्रमण तीव्र देखिएपछि स्थानीय त्रसित बनेका छन् । यतिखेर लामखुट्टेको संख्या वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको अनुमान छ । तथ्यांक संकलन कार्य जारी रहेकाले डेंगू संक्रमितको संख्या थप बढ्न सक्ने जिल्ला जनस्वाथ्य सेवा कार्यालयका महामारी रोग फोकल पर्सन उदयबहादुर विसीले जानकारी दिए ।

 

उनका अनुसार अधिकांशलाई पहिलो पटक र केहीलाई दोस्रो पटक डेंगु देखिएको छ । सुर्खेतमा डेंगूको संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य सेवा कार्यालयले वीरेन्द्रनगरका विभिन्न अस्पताल तथा क्लिनिकहरुबाट संक्रमितको पूर्ण तथ्यांक संकलन गर्न थालेको हो ।

 

डेंगुको संक्रमण फैलिएपछि वीरेन्द्रनगरका नर्सिङ होम तथा मेडिकलमा बिरामीको चाप पनि बढेको छ । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डा. केएन पौडेलका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण भएपछि उपचारका लागि आउने अधिकांश बिरामीलाई डेंगु पत्ता लागेको हो ।

 

वीरेन्द्रनगरमा डेंगु संक्रमित बढ्न थालेपछि जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले पानी जम्मा हुने खाल्डाखुल्डी, सार्वजनिक स्थान तथा लामखुट्टेको सम्भावित बासस्थानमा सरसफाइ गरिरहेका छन् ।

 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डेंगुज्वरोका चिन्ह तथा लक्षणहरु
ज्वरो आउनु यसको मुख्य लक्षण हो ।

बेस्सरी टाउको दुख्ने, हाडजोर्नी, मांसपेसी आंखाको गेडी दुख्ने ।

रिंगटा लाग्ने, शरिरमा रातो बिमिरा आउने ।

वाकवाकी लाग्ने, लगातार वान्ता हुने, वान्तामा रगत देखिने, पेट दुख्ने, स्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्रापहुने, बेहोस हुने आदि डेंगुरोगका जटिल लक्षण हुन् ।

 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डेंगुज्वरोबाट बच्ने उपाय
डेंगुज्वरो भाईरसको कारण हुनेभएकाले यसको उपचार छैन ।

चिन्ह तथा लक्षणका आधारमा मात्र उपचार गर्नसकिने भएकाले बिहाना दिउसो वा राति जुनसुकैबेला सत्नु परेमा झुलको प्रयोग गर्ने,

पुरा बाहुला भएको वा शरिर ढाक्ने कपडाको लगाउने,

शरिरको खुल्ला भागमा लामखुट्टेको टोकाईबाट बच्न मल्हम लगाउने,

लामखुट्टेलाई भगाउन मच्छड धुपको प्रयोग गर्ने, घर भित्र मच्छडलाई छिर्न नदिन झ्याल ढोकामा जालि लगाउने ।