मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

काठमाडौं – नेपालयले आफ्नो क्लासिक्स श्रृंखला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ नयाँ कलेबरका साथ प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।

‘यो किताब केहि समयदेखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ,’ किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भने, ‘यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ । त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरुको कथा भन्नेछ । कोशी उतिबेला बिहारको श्राप थियो । तर, अब वरदान भएको कुरा उनीहरू नै बताउँछन् ।’

संग्रहमा नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनीतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्त्वपूर्ण समय गुज्रेको थियो ।
सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ’सुप्रिम कमाण्डर ’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला सोभन्दा अगाडीदेखि नै साहित्यकारका रूपमा परिचित थिए । पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको संगालो हो ।

कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, विसं २०११ सालको कोशी ( सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन् ।
नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरुको अप्रकाशित वा आउट(अफ प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ । यही शृङ्खला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ ।