रित्तियो खलंगा बजार, गाउँघरमा चहपहल

रेशम बहादुर खड्का

जरकोट- दशैँ पर्व नजिकिँदै गर्दा सदरमुकाम खलंगा सुनसान भएको छ  । कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायत दशैँ मनाउन गाउँ हिंडेपछि खलंगा बजार सुनसान भएको हो  ।

फाइल तस्वीर

नेपालगन्ज, सुर्खेत, काठमाडौं लगायत सहरमा घर बनाएका खलंगाका अधिकांश रैथाने बासिन्दा पनि दशैँ मनाउन गाउँमा झरेका छन । विभिन्न कामकाजका सिलसिलामा सदरमुकाम बस्दै आएका सबै जना गाउँ फर्केपछि खलंगा सुनसान भएको स्थानीय राजबहादुर विकले बताए  ।

 

मंगलबार देखि खलंगामा फाटफुट बाहेक रैथाने मात्र देखिन्छन, उनले भने, ‘खलंगाका रैथाने बासिन्दा पनि आधा जति सहरतिर झरिसकेका छन ।’ उनका अनुसार हिजोआज गाउँ फर्कनेको लर्को लागेको छ । सरकारी कार्यालयका कर्मचारी दशैँ बिदामा हिंडिसकेका छन । खलंगाका पसल तथा होटल बन्द छन  ।

 

चहलपहल भइराख्ने खलंगाको ठाँटी बजार, गैरखाली, शान्तिचौतारा लगायत बजारमा स्थानीयको आवजावत न्यून भएको छ । गाउँमा भने दशैं नजिकिए सँगै चहलपहल बढेको छ । देशका विभिन्न सहर र देश बाहिर बसेका अधिकांश दशैँ मनाउन गाउँ फर्केकाले चहलपहल बढेको हो ।

 

रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएका दशैँ मनाउन घर फर्केका हुन दशैँ मनाउनका लागि तीन वर्षपछि घर फर्केको बारेकोट गाउँपालिका २ का रामबहादुर नेपालीले बताए  ।

नेपाली मजदुरीका लागि भारतको नैनीतालमा बस्दै आएका थिए । दशैँ तथा तिहारको पूर्व तयारीका लागि ग्रामीण क्षेत्रमा घर पोत्ने, रङ्गीचङ्गी बनाउने, खसीबोका किन्ने, भगवती मन्दिर तथा मौलो सरसफाई, बाटोघाटो सरसफाइ, पिङ लगाउने, सेलरोटी पकाउने लगायत काम भइरहेका छन । गत बर्ष सम्म सडक नपुगेका स्थानीय अहिले घर छेउमै यातायातको साधन पुग्ने भएकोले स्थानीय हर्षित हुदै गाउँ प्रवेश गरेका छन।