कर्णालीमा फैलिँदै डेंगु : सुर्खेतमा मात्र १०२ जनामा संक्रमण

सुर्खेत – प्रायः तराईका जिल्लामाहुने डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा पनि बढ्दै गएको छ । कर्णालीका सुर्खेत, कालीकोट, दैलेख, सल्यान र रुकुम पश्चिममा डेंगुको संक्रमण देखिने गरेको हो ।

 

कोरोनाको कारण जनजीवन प्रभावित भइरहेका बेला सुर्खेतमा डेंगुको प्रकोप निकै बढेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सुर्खेतमा साउन महिना यता १०२ जना संक्रमित भेटिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका १०२ जना डेंगु संक्रमितमध्ये वीेरेन्द्रनगर नगरपालिकामा मात्रै ९० जना रहेका छन् ।

 

जसमध्य वीरेन्द्रनगर नगरपालिका वडा नबर ६ मा सबै भन्दा धेरै डेगींका ३४ जना बिरामी भेटिएका छन् । त्यस्तै प्रकोपका हिसाबले वडा नबर ७,८,१०, १२ बढि प्रभाबित रहेको स्वास्थ्य सेवा कार्यालय सर्खेतले जनाएको छ । यसको प्रकोप ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी रहेकोे छ ।

 

कोरोना र डेंगुका लक्षण केही मिल्ने भएकाले पनि कोरोना जाँच गर्ने बिरामीलाई डेंगु पनि जाँच गराउन सल्लाह दिने गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका माहामारी रोग फोकल पर्सन उदय बहादुर बिसिले बताए ।

अघिल्लो वर्ष सुर्खेतका १३३ जनालाई डेंगु को संक्रमण भएको थियो । यता, स्वास्थ्य सेवा निर्देशनालयमा भने गत वर्ष १५ जनामा मात्र डेगीको संक्रमण भएको तथ्यांक छ । जसमध्ये सुर्खेत, दैलेख, कालिकोट र सल्यानका समेत रहेका छन् ।

 

कोरोना महामारीसँगै डेंगुले महामारीको रुप लिन थाले पछि सुर्खेतमा एक हप्ते डेंगुविरुद्धका अभियान सञ्चालन गरिएको माहामारी रोग फोकल पर्सन बिसिले जनाएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्य र वडा नवर ६ को प्रत्यक टोलविकास समितिका अध्यक्षको संयोजकत्वमा डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र मार्ने अभियान संचालन गरिएको बिसिको भनाई छ ।

 

सुर्खेतको मुख्यबजार क्षेत्रमा डेंगीको प्रकोप बढेपछि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले डेंगुविरुद्धको एक हप्ते अभियान नै सञ्चालन गर्नु परेको हो । सञ्चालन गर्न सात सदस्यीय समिति बनाइएको छ। समितिले सम्बन्धित विषयमा सर्वसाधारणलाई जानकारी गराउने तथा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्नेछ ।

एडिज प्रजातिको लामखुट्टेले टोक्दा सर्ने डेंगु रोग तीन प्रकारको हुन्छ । यसको कुनै औषधी पत्ता लागेको छैन । संक्रमितलाई देखिएको लक्षणका आधारमा उपचार हुने गरेको छ । नेपालमा सन् २००६ मा बाँकेमा यो रोग देखिएको थियो ।

 

डब्लु एचओका अनुसार बर्सेनि विश्वमा करिब ६ करोड व्यक्ति डेंगु रोगबाट संक्रमित हुन्छन् भने दुई अर्ब ५० करोड व्यक्ति जोखिममा छन् । २०१० मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा एक सय १७ जना बिरामीमा पाँचजनाको मृत्यु भएको थियो। यो रोग लाग्दा एक्कासी ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजाबाट रगतआउने जस्ता लक्षण देखापर्ने प्रदेश अस्पताल सुर्खेतका डा. सञ्जिव भण्डारीले बताए।

डेंगु प्रभावित जिल्लामा स्थानीय एफएम रेडियो तथा पत्रपत्रिकामार्फत डेंगुविरुद्धमा कार्यक्रम, विज्ञापन तथा विज्ञका अन्र्तर्वाता प्रसारण गरेर चेतना फैलाउन स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको सामाजिकविकास मन्त्रीदल रावलले जनाए ।