आइपीएल- कोलकाता र पञ्जाव विजयी, आज राजस्थान र चेन्नई भिड्ने

काठमाडौं – इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।

यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा गएराति टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनायो ।

जवाफमा हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनाएपछि खेल टाई भएको थियो ।

सुपर ओभरमा लोकी फर्गुसनको उत्कृष्ट बलिङका कारण कोलकाताले मात्र तीन रनको लक्ष्य पाएको थियो ।

जसलाई कोलकाताले तीन बलमा सहजै पूरा गर्यो । यो जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ ।

जारी प्रतियोगितामा हैदरावादको छैटौ हार हो भने कोलकाताको पाँचौ जित हो । यस्तै गएराति नै भएको अर्को खेलमा किंग्स ११ पञ्जावले सुपर ओभरमा तेस्रो जित निकालेको छ ।

जितसँग पञ्जावले प्लेअफको सम्भावना कायमै राखेको छ । जारी आईपीएलमा मुम्बईको तेस्रो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

मुम्बईको सुरुवात भने राम्रो हुन सकेन । ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए ।

रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो । जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो।

यो जितपछि पञ्जावको ६ अंक भएको छ । हारपछि मुम्बईले फेरी शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

जारी प्रतियोगितामा मुम्बईको तेस्रो हार हो । यस्तै आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्स् भिड्दै छन् । एजेन्सी