मस्तिष्क श्राव भएकी सुर्खेतका ७२ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट मृत्यु

फायल तस्वीर नेपाली रैबार

सुर्खेत – मस्तिष्क श्राव भएकी सुर्खेतका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–६ सुर्खेतका ७२ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा आज मृत्यु भएको हो ।

अर्धअचेत अवस्थामा शुक्रबार उपचारको लागि प्रदेश अस्पताल ल्याएको उनको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिएकाे समाचार नेपाली रैबारले लेखेकाे छ।

 

‘अस्पताल भर्ना गरिएदेखि नै उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो’ कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भने, ‘गएराती उहाँलाई सास फेर्न समस्या भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिरहेका थियौं, उहाँको उपचारकै क्रममा मृत्यु भयो ।’

 

डा. पौडेलकाअनुसार राती वृद्धालाई एक्काशी सास फेर्न गाह्रो भएपछि कोरोनाको संक्रमण भएको आशंका गरिएको थियाे ।

 

अस्पतालले वृद्धाको विहान स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट नआउँदै दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

अर्धअचेत अवस्थामा अस्पताल ल्याइएकी वृद्धामा मस्तिष्क श्राव भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए । उनको शव व्यवस्थापन भने आइतबार मात्रै गरिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । याेसँगै कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे स‌ंख्या ९ पुगेकाे छ ।