बाँकेमा कोरोनाबाट थप दुईजनाको मृत्यु

नेपालगञ्ज – बाँकेका दुई ठूला अस्पतालमा कोरोना संक्रमितको दैनिक नै मृत्यु हुने गरेको छ । बिहीबार पनि दुईजना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनीहरु दुवैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

फोकलपर्सन श्रेष्ठले पछिल्ला दिनमा बाँकेमा कोरोना संक्रमितको दैनिक मृत्यु भइरहेको जानकारी दिए । मृत्यु हुनेमा अधिकांश दीर्घरोगी र जेष्ठ नागरिक छन् ।

उनका अनुसार, बिहीबारको सहित गरेर बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ। सुर्खेतकी बृद्धालाई जोड्दा जिल्ला बाहिरबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।