कर्णालीमा नयाँ ८० प्रतिशत युवा मतदाता थपिए

सुर्खेत – कर्णाली प्रदेशमा नयाँ थपिएका २६ हजार बढी मतदातामध्ये ८० प्रतिशत मतदाता युवा रहेका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार कर्णालीमा २६ हजार ६३५ नयाँ मतदाता थपिएका हुन् । जसमा नयाँ मतदातामध्ये ८० प्रतिशत मतदाता युवा पुस्ताका रहेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले बताए । उनका अनुसार यसअघि प्रदेशभर १० लाख ६ हजार ८३४ जना पुराना मतदाता थिए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि २६ हजार बढी नयाँ मतदाता थपिएका हुन् । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवाको सहभागिता उल्लेख्य देखिएको हो । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।

जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा युवाहरूको जोड छ । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यसपटक भने आशावादी देखिएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका युवा रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जेनजी आन्दोलनपछिको निर्वाचन भएकाले युवा मतदाता बन्न इच्छुक देखिएका हुन् ।

१७ देखि २५ वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढी युवाले मतदाताका लागि आवेदन दिएको निर्वाचन अधिकारी गुरुङले बताए । यसपटक नामावली दर्ता गराउन आउनेमा युवाको सङ्ख्या धेरै पाइएको उनले जानकारी दिए । यो पटक युवाहरूले निर्वाचनलाई नजिकबाट नियालेका छन् भने सोही अनुरूप प्रचार–प्रसारमा पनि लागेका छन् ।

‘निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मंसिर ५ गते सकिएको छ’ उनले भने, ‘समय सकिएसँगै नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको छ । फोटो तथा औँठाछापसहितको जैविक विवरण ९बायोमेट्रिक्स० मार्फत २६ हजार ६३५ मतदाता थपिएका हुन् ।’ प्रदेश निर्वाचन अधिकारी गुरुङका अनुसार आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट पनि नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

आयोगले थपेको थप समयसम्म कर्णालीमा २६ हजार बढी नयाँ मतदाताले नाम दर्ता गराएपनि अझँै छुटेको हुनसक्ने अनुमान छ । गत कार्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले मंसिर ५ गतेसम्मका लागि समय थपेको थियो । नयाँ थपिएका मतदातामध्ये सबैभन्दा धेरै सुर्खेतमा सात हजार ३६२ मतदाता रहेका छन् । सुर्खेतमा यसअघि पुराना मतदाताको सङ्ख्या दुई लाख ४४ हजार ६७६ जना रहेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए ।

त्यसैगरी रूकुम पश्चिममा दुई हजार ८४० नयाँ मतदाता थपिएका छन् । त्यहाँ पुराना मतदाता एक लाख चार हजार २३८ जना थिए । डोल्पामा एक हजार सात जना नयाँ मतदाता थपिएका छन् । उक्त जिल्लामा २२ हजार ९८५ जना पुराना मतदाता थिए । यता जुम्ला जिल्लामा तीन हजार ३६ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाताको सङ्ख्या ६७ हजार ७४४ रहेको छ ।

यस्तै मुगुमा ७७४ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाता ३८ हजार ९१ थिए । हुम्लामा ८२४ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाताको सङ्ख्या ३३ हजार ३०८ रहेको छ । कालीकोटमा एक हजार ७७६ नयाँ मतदाता थपिएका छन् । पुराना ७२ हजार ८० मतदाता थिए। दैलेखमा तीन हजार ६२६ नयाँ मतदाता थपिएका छन् । पुराना मतदाताको सङ्ख्या एक लाख ५९ हजार ८६५ जना रहेको छ ।