
सुर्खेत – महिला उद्यमीका लागि सरकारको लगानी बढाउन माग गरिएको छ । महिला उद्यमीका लागि तीनै तहका सरकारले लगानी बढाउनुुपर्ने कर्णालीका व्यवसायी तथा उद्यमी महिलाले माग गरेका हुन् ।
आफुहरले सञ्चालन गरेका विभिन्न व्यवसाय तथा उद्योगमा सरकारले पनि सहयोग गर्नुुपर्ने उनीहरुको माग छ । महिला उद्यमीका लागि स्थानीय तथा प्रदेश सरकारको लगानी सम्बिन्धी कार्यशालामा सहभागीले यस्तो माग गरेका हुन् ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को आयोजना तथा अक्सफामको सहयोगमा आइतबार वीरेन्द्रनगरमा सम्पन्न कार्यशालामा कर्णालीका व्यवसायी तथा उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।
कर्णाली सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले उद्यमीहरुका लागि ब्याज अनुदान, स्टार्टअप कर्जा र सिप विकासका कुरामा जोड दिइएको उनीहरुलाई जानकारी दिए । प्रदेश सरकारको प्रतिनिधिको तर्फबाट अनुदान प्रक्रियामा महिला उद्यमीलाई आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘तर ब्याज अनुदान मार्फत लगेको पैसा भने दुरुपयोग हुनुभएन । महिला उद्यमीहरुले गरेको कर्मले गाउँघर समाज, पालिका हुँदै प्रदेश समृद्ध भयो भने नेपाल समृद्ध हुनेछ’ उनले भने, ‘यसबारे महिला उद्यमीले पनि हामीलाई प्रष्ट खाका दिनुभयो भने त्यसतर्फ प्रदेश सरकार लाग्ने प्रतिबद्धता गर्छुु ।’
यसअघिका बजेट नीति कार्यक्रममा उद्योग क्षेत्रले खासै प्राथमिकता नपाएको भन्दै यसपटकको बजेटमा समेटिएको उनले जानकारी दिए । उनले थपे, ‘त्यो रातो किताब हेर्नुभयो भने त्यहाँ छर्लङ्ग देख्नुहुन्छ जो महिला उद्यमी लिडरहरु हुनुहुन्छ, उहाँहरुले गएर सम्बन्धित मन्त्रालयमा पनि बुझ्नसक्नुहुन्छ ।’
संस्थाका अध्यक्ष देवी पौडेलले विभिन्न व्यवसाय र उद्योग सञ्चालन गरिरहेका महिलालाई थप ज्ञान र सिपको खाँचो रहेको बताइन् । ‘व्यवसाय र उद्यममा आफ्नो पनि मेहनत र लगानी चाहिन्छ । सँधै अर्काको हात थापेर मात्रै हुदैन’ उनले भनिन्, ‘अब नाम मात्रैका व्यवसाय र उद्यम गर्ने होइन, उत्पादन निर्यात गर्नेगरी लाग्नुुहोस् । अनी सबै तपाँइका व्यवसाय र उद्योग अवलोकन गर्न आउनेछन् ।’
संस्थाका निर्देशक मधुरानी ढकालले संस्थाको बारेमा बताउँदै विगत २८ वर्षदेखि सिमान्तकृत महिलाको आयआर्जन बृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् । कार्यक्रममा कर्णालीका स्थानीय तह र प्रदेश सरकारद्धारा व्यवसायी तथा उद्यमी महिलाका क्षेत्रमा गरिरहेको सकरात्मक प्रयास, नीतिगत व्यवस्था र आगामी बाटोका बिषयमा समिक्षा तथा ग्रप छलफल गरिएको थियो । छलफलपछि सहभागी उद्यमी महिलाहरुले समय अनुसार व्यवसाय प्रर्वद्धनमा लगानी गर्ने बताएका थिए ।