नयाँ स्पर जातका स्याउ सिफारिस

जुम्ला – असोज २ गते । जुम्लामा रहेको बागवानि अनुसन्धान केन्द्र राजिकोटले तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको छ । करिब १० देखि १२ वर्षको लामो अनुसन्धानपछि तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा स्टार क्रिमसन डेलिसियस, ब्राईट एन अर्ली र स्टार्क स्पर गोल्डेन जातको स्याउ सिफारिस गरिएको वरिष्ठ वैज्ञानिक (एस–३) राजुकमार गिरीले बताउनुभयो ।

नयाँ सिफारिस गरिएका स्याउका जातहरु रोपेको दुईदेखि तीन वर्षमा फल्न सुरु गर्ने, हरेक वर्ष फल्ने, बोट होचो हुने भएकाले रेड, रोयल र गोल्डेन डेलिसियस जातका स्याउ रोप्ने ६–६ मिटरभन्दा कम दूरीमा रोप्न सकिने गुण भएको उहाँको भनाइ छ । यस्तै, पुरानो जातको स्याउ एक हेक्टरमा दुई सय ७८ वटा अट्छ भने स्पर जातको स्याउ एक हेक्टरमा चार सय बोट अटाउने गिरीले बताउनुभयो ।

उहाँले पुरानो जातको भन्दा एक सय २२ बोट स्याउका विरुवा बढी एउटै जमिनमा अटाउने गुण भएको जानकारी गराउनुभयो । नयाँ सिफारिस भएको स्पर जातको स्याउका बोक्रा बाग्लो हुने भएकाले भण्डारण अवधि बढी हुनुका साथै ढुवानीमा कम क्षति हुने, स्पर जातका स्याउहरु रेड, रोयल र गोल्डेन जातको स्याउभन्दा १०–१५ दिन ढिलो फुल्ने भएकाले तुसारोबाट बचेको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

यस्तै, रोगकिरा कम लाग्ने र सर्वधारण सबै किसानले सजिलै खेती गर्न सक्ने गुण भएको स्पर जातको नयाँ स्याउ सिफारिस गरिएको वैज्ञानिक गिरीको भनाइ छ । यो वर्ष जुम्लामा असिनाले स्याउमा क्षति गरेको बेला बागवानि अनुसन्धान केन्द्र राजिकोटका स्याउ लट्रमै फलेका छन् ।

किसानको बारीमा लगाइएका स्याउ एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने समस्या भोगि रहेका बेला राजिकोटमा लगाइएका स्याउ प्रत्येक वर्ष एकै नासले उत्पादन हुने गरेको प्राविधिक हरी सुवेदीले बताउनुभयो । नयाँ सिफारसि गरिएका स्याउले उत्पादन बढी दिने उहाँको भनाइ छ । हाल नेपालमा स्याउको उत्पादकत्व ८.५१ मेट्रिकटन प्रति हेक्टर रहेको छ भने सिफारिस जातका स्याउको उत्पादकत्व १४ मेट्रिकटन प्रति हेक्टरभन्दा बढी रहेको छ ।

यसै वर्षबाट बागवानि अनुसन्धान केन्द्र राजिकोटले सिफारिस गरेका तीन वटा स्पर जातका स्याउका कलमी बेर्नाहरु नर्सरी धनि र अगुवा किसानहरुलाई उपलब्ध गराइने भएको छ । सहशुल्कमा स्याउका कलमी बर्नाहरु उपलब्ध गराइने सुवेदीले जानकारी गराउनुभयो ।

अनुसन्धानका क्रममा रहेका स्याउका जातहरु
बागवानि अनुसन्धान केन्द्र राजिकोटले अन्य तीन देशको स्याउहरुमा पनि अनुसन्धान गरि रहेको छ । इन्डियन स्परका १० वटा, क्यानेडियनका १५ वटा र फ्रान्सका ११ वटा स्याउहरुमा अनुसन्धान भइ रहेको वैज्ञानिक गिरीले बताउनुभयो । २०६८ बाट इन्डियन र क्यानेडियन देशका स्याउहरुमा अनुसन्धान भइ रहेको छ भने सन् २०१५–१६ देखि फ्रान्सनको स्याउमा अनुसन्धान भइरहेको गिरीको भनाइ छ । उक्त जातहरुका स्याउहरु सिफारसि हुन समय लाग्ने बताइएको छ ।

सिफारसिका लागि अघि बढाइएका जातहरु

उच्च पहाडमा हुने फलपूmल तथा तरकारीमा अध्ययन अनुसन्धान गरी प्रविधि विकास गर्दै आएको बागवानि अनुसन्धान केन्द्र राजिकोटले सिफारिसका लागि दुईवटा नयाँ जातका स्याउहरु अघि बढाएको छ । टपरेड र रेड स्पर जातको स्याउहरु यसै वर्ष सिफारिस हुने गिरीले बताउनुभयो । यी जातहरुमा पनि करिब १०–१२ वर्ष अनुसन्धान भएको छ ।

स्याउका कार्टुनमा पनि अनुसन्धान

बागवानि अनुसन्धान केन्द्र राजिकोटले स्याउका जातहरुको अलवा स्याउका कार्टुनमा पनि अनुसन्धान गरेको छ । बजारमा पाइने कार्टुनमा स्याउ ढुवानी गर्दा किसानहरुले बढी क्षति बेहोर्नु परेको छ । तर केन्द्रले असुन्धान गरी पहिचान गरेका स्याउ कार्टुनमा एकदमै कम क्षति हुने गरेको गिरीले बताउनुभयो ।

केन्द्रले सञ्चालन गरेको स्याउका विभिन्न कार्टुनहरुको परीक्षणको नतिजा अनुसार सात प्लाई ९पत्र० तथा एक सय असि भारबहान क्षमता भएको कार्टुनमा स्याउ ढुवानी गर्दा एकदम न्यून क्षति भएको छ । रेडमा ५५ प्रतिशत, रोयलमा ६.५ प्रतिशत र गोल्डेन डेलिसियसमा ७.२ प्रतिशत मात्र कम क्षति भएकाले यो कार्टुन ढुवानीका लागि सिफारिस गरिएको हो ।

तर सरोकारवालाहरुले केन्द्रले सिफारिस गरेको स्याउ ढुवानी कार्टुन प्रयोग नगरी आफ्नै मनमर्जि हिसाबले वितरण र ढुवानी गर्दै आएका छन् । यसले गर्दा किसान र व्यापारीले स्याउ ढुवानीमा क्षति भोग्नु परेको छ ।

चार हजार हेक्टरमा स्याउ खेती 

जुम्ला स्याउ उत्पादनका लागि प्रमुख जिल्ला मानिन्छ । साविक कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउ खेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले लगाएका छन् । पछिल्लो समय परम्परागत खेतीभन्दा उन्नत जातको स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ ।