जेनजी आन्दोलनले कर्णालीमा ६० संरचना र ४५ सवारी साधन ध्वस्त

सुर्खेत – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कर्णालीमा अर्बौँ रुपैयाँको क्षति भएको छ । आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडबाट उक्त क्षति भएको हो ।

१० जिल्ला रहेको कर्णालीमा आन्दोलनरत पक्षले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० वटा संरचना तथा ४५ सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रदेशका १० जिल्लाहरू मध्ये सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासहरूमा तोडफोडसँगै आगजनी गरेको पाइएको छ । जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिममा आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना नभएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अनुगमनका क्रममा देखिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालयले आन्दोलनपछि क्षतिग्रस्त भौतिक संरचना तथा अन्य क्षतिको विवरण सङ्कलन गरेको थियो । इन्सेकको विवरणअनुसार सबैभन्दा बढी क्षति सुर्खेतमा भएको छ । त्यसमा पनि प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरका सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताए ।

सुर्खेतमा मात्रै २८ वटा सरकारी संरचना तथा ८ वटा निजी सम्पत्तिका संरचना, पाँच वटा राजनीतिक दलका पार्टी कार्यालय र तीन वटा संघसंस्थाका कार्यालय गरी ४४ भौतिक संरचनामा क्षति पुगेको उनी बताउँछन् । आन्दोलनरत पक्षले तीँ संरचनामा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

आन्दोलनकारीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेका कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत् खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का वडा कार्यालय तोडफोड गर्नुका साथै जलाइदिएका छन् ।

यस्तै उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालय, मुख्यमन्त्रीको सरकारी निवास, कृषिमन्त्री, भौतिक मन्त्री निवास, हिमाली पुस्तकालय वीरेन्द्रनगर, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरूमा तोडफोडसँगै आगजनी गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निजी निवास, प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा तोडफोडसँगै आगजनी गरी क्षति पुर्‍याइएको छ । आन्दोलनकारीहरूले प्रदेश सभामा रहेको एनआईसी एसिया बैंकको एटीएम समेत तोडफोडसँगै आगजनी गरेका छन् ।

प्रदेश सभाका कानुन अधिकृत मदन खड्का अनुसार, सभाको सबै संरचना ध्वस्त भएको छ । सबै गरी अर्बको हाराहारीमा क्षति पुगेको अनुमान गरिएको उनको भनाइ छ ।

त्यस्तै, सुर्खेतमा मात्र आन्दोलनकारीहरूले गरेको आगजनीका कारण ११ वटा सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारी अन्तर्गत दुई गाडी र पाँच मोटर साइकलमा क्षति पुगेको छ ।

उता, जुम्लामा जेनजी आन्दोलनकारीहरूले एक सरकारी कार्यालय, पाँच पार्टी कार्यालय गरी ६ वटा कार्यालयमा आगजनीसँगै तोडफोड गरेका छन् । आठ वटा सरकारी गाडी र ११ ओटा मोटरसाइकल तोडफोडसँगै आगजनी गरेका छन् । आन्दोलनकारीहरूले एम्बुलेन्स, शववहान र दमकलमा समेत तोडफोड गरेको सुवेदी बताउँछन् ।

यसैगरी, कालिकोटमा आन्दोलनकारीहरूले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका गरी सात वटा पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरेका छन् ।

मुगुमा कांग्रेस र एमालेको पार्टी कार्यालय तोडफोड भएको छ । आन्दोलनकारीले छायानाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए ।

त्यसैगरी भदौ २४ गते नै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित कांग्रेस नगर समितिको कार्यालय रहेको स्थानीयको घरमा आन्दोलनकारीले ढुंगामुढा हानेर तोडफोड गरेका थिए ।

आन्दोलनबाट अर्बौँको सार्वजनिक तथा निजी सम्पत्ति क्षतिग्रस्त हुनुका साथै सेवा प्रवाह गर्ने कार्यालयहरूमा यतिबेला समस्या भइरहेको छ ।