वीरेन्द्रनगरमा ट्राफिक लाइट सञ्चालन

वीरेन्द्रनगर – कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । प्रदेश राजधानी बनेसँगै बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो ।

सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको हो । नगरपालिकाले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ ।

नगर प्रमुख मोहनमाया ढकालले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी ट्राफिक कार्यालयलाई हस्तान्तरण गर्दै मुख्य सडकहरु व्यवस्थित हुने र पैदलयात्रीहरुको यात्रा सुरक्षित र सहज बनाउन सहयोग पुग्ने बताइन् । यसले ट्राफिक प्रहरीको कामलाई पनि प्रभावकारी बनाउने उनको अपेक्षा छ ।

‘ट्राफिक नियमको पालना गर्न पनि सबैलाई आग्रह छ । शहरीकरणसँगै सवारी साधनहरुको तिव्र गति पनि बढेको छ’ उनले भनिन्, ‘वीरेन्द्रनगरलाई व्यवस्थित शहर बनाउन हामीले केही थालनी गरेका छौँ । सडक सुरक्षालाई पनि प्राथमिकतामा राखेर ट्राफिक लाइट सञ्चालनमा ल्याएका हौं ।’

उनका अनुसार नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइट विस्तार गर्ने तयारी गरेको छ । भने बजार क्षेत्रको मङ्गलगढी चोक, दैलेख रोड चोक, एयरपोर्ट र यरिचौकमा पनि ट्राफिक लाइट जडान गर्ने तयारी छ ।

साथै नगरपालिकाले आगामी आर्थिक वर्षभित्रै मंगलगढी चोकमा आकाशे पुल निर्माणका लागि प्रक्रिया सुरु गरेको छ । हाल नगरपालिकामा फुटपात व्यवस्थापन, मङ्गलगढी, एरिचोकलायतका ठाउँहरुमा ठुला क्षमताका सिसिटिभी क्यामेराहरु जडान लगाएतका काम भइरहेका छन् ।