वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सम्पन्न

वीरेन्द्रनगर – वीरेन्द्रनगरमा २ दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८२ सम्पन्न भएको छ । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसारको करिअर मार्गदर्शन गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो ।

यो मेला कर्णाली प्रदेशमा पहिलोपटक सञ्चालन भएको हो । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मेला आयोजना भएको थियो ।

मेलाले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई एउटै स्थानमा ल्याई दुवै पक्षबीचको सहकार्यको अवसर सिर्जना गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत मेला आयोजना भएको उनले जानकारी दिए ।

मेलामा ४० वटा स्टलहरू रहेका थिए । विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक र निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्थाहरू सहभागी थिए । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका थिए ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमूलक तालिम प्रदर्शनी तथा जानकारी, रोजगारीका अवसरबारे जानकारी तथा प्रत्यक्ष सम्पर्कको व्यवस्था, निःशुल्क कार्यस्थलमा आधारित तालिमहरूको जानकारी र स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिएको थियो । यसले कर्णालीका युवालाई विदेश पलायनको विकल्प खोज्न र स्थानीय रोजगारीका अवसरहरू पहिचान गर्न सघाउने अपेक्षा आयोजकले लिएका छन् ।

वर्तमान बेरोजगारी, जनशक्ति पलायन र उद्योग व्यवसायमा देखिएको दक्ष जनशक्ति अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको मेलाले स्थानीय श्रम बजारमा माग अनुसारको जनशक्ति उत्पादन गर्न र नीति निर्माणमा मार्गदर्शन प्रदान गर्ने विश्वास लिइएको मन्त्री भण्डारीको भनाइ छ ।