काँक्रेविहार पर्यटन महोत्सव तथा विद्यार्थी सम्मेलन हुदै

सुर्खेत – काँक्रेविहार पर्यटन महोत्सव तथा विद्यार्थी सम्मेलन हुने भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को आयोजनामा यही असार १३ गते काँक्रेविहार परिसरमा सम्मेलन हुन लागेको हो ।

काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव र युवा, बालबालिका तथा विद्यार्थी सम्मेलनको आयोजना गरिएको वडाध्यक्ष ऋषि गिरीले बताए । उनका अनुसार ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रूपमा स्थापित काँक्रेविहार परिसरमा सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सबै तयारी पुरा भएको छ ।

पत्रकार सम्मेलन मार्फत उनले महोत्सवको मूल लक्ष्य काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्नु रहेको जानकारी दिए ।

काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय महत्व विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शिर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८) र स्थानीयकला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) को आयोजना गरिएको छ ।

समाजका विभिन्न क्षेत्रमा योगदान गर्नु भएका महत्वपूर्ण व्यक्तित्वहरूलाई सम्मानका साथै विद्यालय स्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनीका साथै स्थानीय थारू, भोटे, र अन्य आदिवासी समुदायहरूको समृद्ध सास्कृक्तिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिने भएका छन् । यसले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्ने वडाध्यक्ष गिरीले बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–९ मा रहेको काक्रेविहार वीरेन्द्रनगर बजारको उत्तर–पश्चिम भागमा पर्ने एक सानो पहाडी टाकुरोमा अवस्थित छ । यो स्थान सुर्खेत उपत्यकाको रमणीय डाँडामा छ । जहाँबाट वीरेन्द्रनगर र वरपरका दृश्यहरू स्पष्ट देखिन्छन् । काक्रेविहार एक प्राचीन बौद्ध विहार हो । यसको निर्माण करिव १२ औं शताब्दीमा भएको मानिन्छ । विभिन्न अभिलेखहरू र उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई मिच्छवि र मल्ल कालसँग पनि सम्बन्धित बनाएका छन् ।

यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी, र अन्य बौद्धदेव–देवीहरूका मूर्तिहरू फेला परेका छन् । भने हिन्दू र बौद्ध संस्कृतिको सङ्गम मानिन्छ । यसले नेपाली धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको सन्देश दिन्छ । काँक्रेविहार सुर्खेत उपत्यकाको सांस्कृतिक पहिचान मात्र नभएर कर्णाली प्रदेशकै गौरवशाली अतित, धार्मिक सहिष्णुता र कलात्मक सम्पन्नताको प्रतीक स्वरूप रहेको एक महत्वपूर्ण स्थल पनि हो ।