वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोडको बजेट

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ३८ करोड २७ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

मंगलबार वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ एक अर्ब ५९ करोड ४२ लाख ३० हजार र पूँजिगततर्फ दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार बजेट छ । यो कुल बजेटको चालुतर्फ ३६।३७ र पूँजिगततर्फ ६३.६३ प्रतिशत हो ।

आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख बजेट विनियोजन भएको छ । यस्तै, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम (म्याचिङ्ग फण्ड भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि ११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख र नगर प्रमुखबाट पेश भएका नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु संचालन गर्न एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन भएको उप–प्रमुख खनालले बताए ।

उनले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत संघीय वित्तीय सामानीकरण अनुदानबाट प्राप्त २४ करोड २४ लाख राखिएको छ । यस्तै, नगरपालिकाले संघीय सरकारबाट प्राप्त दुई अर्ब २० करोड आठ लाख सर्शत अनुदान, संघीय राजश्व बाँडफाँडबाट प्राप्त २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त तीन करोड ३४ लाख ५३ हजार रुपैयाँ आगामी वर्षमा खर्च व्यहोर्ने स्रोत राखेको छ । प्रदेश सशर्त अनुदानबाट प्राप्त हुने ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन करबाट प्राप्त १५ करोड, दहत्तर वहत्तर शुल्कबाट प्राप्त दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आयबाट प्राप्त ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन हुने अनुमान नगरपालिकाको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८१÷०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार तथा सामाजिक सुरक्षा अनुदानबाट प्राप्त ४० करोडलाई आगामी वर्षको खर्च धान्ने स्रोतका रुपमा राखिएको छ । आगामी वर्षको बजेट कार्यान्वयनबाट विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नगर क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, सामाजिक न्याय, आधारभुत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच लगायत शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको दिगो एवम् सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।