कर्णालीका ६९३ जना पत्रकारको स्वास्थ्य बीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीमा कार्यरत ६९४ जना क्रियाशिल पत्रकारको निशुल्क स्वास्थ्य बीमा गरेको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकारको निशुल्क बीमा गरेको हो ।

पत्रकारको बीमा घोषणाका लागि मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । यी २ निकायको सहकार्यमा कर्णालीमा कार्यरत ६९४ जना क्रियाशिल पत्रकारको स्वास्थ्य (औषधोपचार) बीमा गरिएको सम्झौतामा उल्लेख छ ।

शुक्रबार मन्त्रालय र बीमा कम्पनीले पत्रकार स्वास्थ्य बीमा लागु तथा कर्णालीका नागरिकको सामूहिक प्राकृतिक विपद् बीमा अद्यावधिक भएको घोषणा गरेका हुन् । साथै बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले बीमा अद्यावधिक पत्र मन्त्रालयका निमित्त सचिव उत्तम गौतमलाई हस्तान्त्रण गरेका छन् ।

बीमा कार्यान्वयनका लागि पत्रकार महासंघ कर्णाली प्रदेश समितिले समन्वय गरिरहेको छ । महासंघका महासचिव खगेन्द्र भट्राईका अनुसार कर्णाली प्रदेश कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकारहरुले स्वास्थ्य बीमाबाट लाभ लिन सक्नेछन् । प्रति व्यक्तिले वर्षमा ७० हजार बराबरको औषधोपचार सेवा लिनसक्ने उनले बताए ।

बीमा दावी प्रक्रिया

घटना पश्चात् तोकिएको समय भित्र (विरामी भएको ६० दिन भित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन भित्र) कम्पनीलाई घटना वा बिमारी भएको जानकारी गराउनु पर्नेछ । दाबीको लागि आवश्यक कुनै कागजात नपुग भएको अवस्थामा कम्पनीले सो को जानकारी सम्बन्धित पत्रकार महासंघको प्रदेश समितिलाई गराउनु पर्नेछ । समितिले सम्बन्धीत बीमीत पत्रकारलाई जानकारी गराउनु पर्नेछ ।

कम्पनीले आफ्नो शाखा तथा उपशाखा कार्यालयबाट दावी सम्बन्धी कागजात बुझ्ने व्यवस्था मिलाई दावी प्रकृया सरल तथा सहज बनाउने उल्लेख छ । दावी सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कम्पनीसंग सुरक्षित रहनेछ । दाबी भुक्तानी गर्नु नपर्ने कारण उत्पन्न भएमा वा गलत दावी परेको भन्ने कम्पनीलाई लागेमा यसको यथोचित कारण सहित सम्वन्धित पत्रकार महासंघको प्रदेश समितिलाई जानकारी गराउने छ ।

दाबी भुक्तानीको लागि आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको मितिले तोकिएको समयभित्र दावी एकिन गरी भुक्तानी गर्नु कम्पनीको दायित्व हुनेछ ।

दावीको लागि बीमितले कम्पनीबाट उपलब्ध गराईएको दावी फाराम पूर्णरुपमा भरी सो फाराममा पत्रकार महासंघको प्रदेश समितिको कार्यालयको छाप, अस्पतालको छाप, सम्बन्धित डाक्टरको दस्तखत र एनएमसी नम्बर सहितको छाप उल्लेख हुनुपर्नेछ ।

प्राकृतिक विपद् बीमा अद्यावधिक

कर्णाली प्रदेश सरकार र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच भएको बीमा सहकार्य अन्तर्गत कर्णालीका नागरिकको सामूहिक प्राकृतिक विपद बीमा अद्यावधिक गरिएको छ ।

कर्णालीमा स्थायी बसोबास गर्ने र यस प्रदेशमा कार्य गर्न अन्य प्रदेशबाट आएका कर्मचारीहरुलाई समेटी प्राकृतिक विपद बीमा अद्यावधिक गरिएको हो । बीमा कम्पनीले प्राकृतिक विपदमा परी मृत्यु हुन गएमा प्रति व्यक्ति २ लाख क्षतिपूर्ति भुक्तानी गर्ने सम्झौता अद्यावधिक भएको छ । प्रदेश मन्त्रीपरिषद्बाट पारित भएको बीमा सम्बन्धी कार्यविधिको अधिनमा रही यस बीमा कार्यक्रम शुरुवात भएको थियो ।

कर्णालीमा नागरिकको सामूहिक प्राकृतिक विपद बीमा २०७६ चैत १ बाट लागु भएको थियो । प्रतिव्यक्ति बीमा शुल्क ९ रुपैया ३१ पैसा मात्र लाग्छ । यस बीमालेख अन्तर्गत कम्पनीबाट आ.व. २०७९÷०८० मा १ करोड १४ लाख, आ.व. २०८०÷०८१ म ३ करोड ३४ लाख (जाजरकोट भुकम्प समेत) भुक्तानी भएको छ । भने आ.व. २०८१÷०८२ मा ४६ लाख भुक्तानी भएको बीमा कम्पनीले जनाएको छ ।

आ.व. २०७६÷७७ देखि २०७९÷८० सम्म कर्णाली प्रदेशका वासिन्दा र कार्यरत कर्मचारीहरु गरेर बीमित संख्या १७ लाख ७० हजार जना रहेको थियो । भने आ.व. २०८०÷०८१ देखि कर्णालीका १६ लाख ९४ हजार ८८९ जना वासिन्दा र कार्यरत कर्मचारीहरु बीमित रहेको उल्लेख छ ।

यस्तै कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा नेपाल बीमा प्राधिकरण, प्रदेश कार्यालय, सुर्खेतको निर्देशनमा कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको घरहरुको बीमा थालनी भएको छ । हालसम्म ६०० घरघुरीको विवरण वडा कार्यालयबाट अद्यावधिक भई बीमालेख जारी गर्न सकिने अवस्थामा रहेको मनत्रालयले जनाएको छ ।