कर्णाली सरकारलाई भूकम्प पुनर्निर्माणमा ध्यान दिन निर्देशन

सुर्खेत – कर्णाली प्रदेश सरकारलाई भूकम्पपछिको पुनर्निर्माणमा जोड दिन निर्देशन दिइएको छ । कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई भूकम्प पुनर्निर्माणमा देखिएका कानूनी अल्झनलाई सहज बनाउन निर्देशन दिएको हो ।

समितिले आइतबार पत्रकार भेटघाट गर्दै बैठकका निर्णय र प्रदेश सरकारलाई दिएको निर्देशनबारे प्रष्ट पारेको हो । समितिका अनुसार भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा गरेको सार्वजनिक सुनवाईमा कानूनी अल्झनले पुनर्निर्माणमा समस्या उत्पन्न भएको गुनासो आएपछि त्यसको आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।

समितिले जाजरकोटको खलंगामा गत जेठ ७ गते सार्वजनिक सुनुवाई तथा अन्तक्र्रिया कार्यक्रम गरेको थियो । सो आधारमा शनिबार बसेको समितिको बैठकले भूकम्पपछिको पुनर्निर्माण र भूकम्प प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्ष २०८२÷०८३ मा थप बजेट विनियोजन गरी सम्बन्धित निकायसँगको समन्वयमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा क्रमागत रुप दिँदै प्रदेश सरकारबाट केही आयोजना निर्माण भइरहेपनि निकै सुुस्त गति रहेको समितिका सभापति कल्याणी खड्काले बताइन् । उनका अनुसार भूकम्प लगत्तैको उद्दार र राहतका लागि निर्माण गरिएका अस्थायी पूल, बाटो आदी संरचनाको भुक्तानी कार्य सम्बन्धित निकायबाट यथासिघ्र सम्पन्न हुनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कार्य तथा समन्वय गर्न समितिले भनेको छ ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि स्थानीय तह तथा जिल्ला तहबाट प्राप्त भएका योजनाहरुको छनौट प्रक्रिया वैज्ञानिक, निष्पक्ष र सन्तुलित बनाउन समेत समितिले प्रदेश सरकारलाई निर्देशन दिएको छ । यस्तै जिल्ला पशु सेवा कार्यालय जाजरकोट र सशस्त्र प्रहरी बलको कार्यालय एकै ठाउँमा सञ्चालन हुँदा समस्या उत्पन्न भएकाले उक्त समस्या हल गर्न ती कार्यालयहरुलाई अलग–अलग स्थानमा सञ्चालन गर्ने प्रक्रिया छिटो टुङ्गोमा पुर्याउन प्रदेश सरकारले यथासिंघ्र पहल गर्नुुपर्ने निर्देशन छ ।

समितिका सभापति खड्काले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र क्षतिको आँकलन प्रभावकारी नभएको समेत उल्लेख गरिन् । कानून, कार्यविधि र कार्यान्वयनलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प नरहेको उनको भनाई छ ।

उनले भनिन्, ‘समितिले प्रदेश सरकारलाई ६ बुँदे सुझाव समेत दिएको छ । जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा आवश्यक सामग्री (काठ, बालुवा, ढुङ्गा, गिट्टी आदि) को सहज आपुर्तिका लागि प्रदेश सरकाले आवश्यक कार्य, पहल र सार्थक निर्देशन तथा समन्वय गर्नुपर्ने सुझाव छ ।’

विपद् पछिको उद्दार, राहत, पुनः निर्माण र विपद् प्रतिकार्यका लागी प्रभावकारी कार्यविधि निर्माण गर्नुपर्ने र सालवसाली रुपमा कार्यान्वयनमा आउने कानून प्रत्येक वर्ष पहिलो चौमासिक भित्र अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्ने समितिको दावी छ । भूकम्पबाट जिर्ण तथा चर्किएका घरमा बसोवास गर्ने नागरिकको पुनस्र्थापना र सुरक्षाका लागी आवश्यक कार्य गर्नुका साथै रोजगारी, व्यवसाय र जीविकोपार्जनका लागि सहुलियत कर्जा जस्ता आवश्यक कार्यमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समितिको ठहर छ ।

आयोजनाको ठेक्का प्रक्रियालाई व्यवस्थित बनाउन, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ मा संशोधन गर्नुपर्ने विषय सहित प्रदेश सरकार मार्फत नेपाल सरकारलाई सुझाव दिनुपर्ने समितिले निर्णय गरेको छ ।

समितिले प्रदेश सरकारलाई भूकम्प प्रभावित क्षेत्रको स्थलगत अध्ययन र ३ तहका सरकारबीचको समन्वय गरी सरकारको पुँजीगत खर्च बढाउने र ठूला तथा बहुउद्देश्यीय आयोजनाको सञ्चालन गर्नुपर्ने सुुझाव दिएको छ । यस्तै कर्णाली प्रदेशका विभिन्न स्थानको भौगर्भिक अध्ययन र विपद्को पूर्वानुमान गरी जोखिमयुक्त वस्ति स्थानान्तरण र पूर्व तयारी गर्नुपर्ने सुझाव छ ।