सुर्खेत – सुर्खेतको मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक अन्तर्गत झण्डै सात किलोमिटर सडकको शिलान्यास गरिएको छ । आइतबार कर्णालीका मुख्यमन्त्री यामलाल कडेलले वीरेन्द्रनगरलाई बर्दियासँग जोड्ने छोटो मार्गको पहिलोखण्ड स्तरोन्नतिको काम शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले पहिलोखण्ड स्तरोन्नतिको शिलान्यास भएसँगै दोस्रोखण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताए ।
नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उनले यो मार्गलाई पूर्णता दिएरै छाड्ने बताए । तेलपानी–भुरीगाउँ सडक सिङ्गो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो भएको बताउदै उनले यसलाई पूर्णता दिन सकिएको खण्डमा बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिने बताए । यसले यहाँको समृद्धिमा ठूलो टेवा उनको भनाई थियो ।
यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको कडेलले बताए । तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए । दोस्रोखण्ड रानीघाट–तेलपानी–भुरीगाउँखण्डमा जग्गा भोगाधिकार, रुख कटान र रानीघाटस्थित भेरी नदीमा पुल बनाउने विषयमा प्रदेश सरकार लागि परेको उनले बताए ।
कार्यक्रममा पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्य बहादुर शाहीले तोकिएकै समयमा काम सम्पन्न गर्न स्थानियको साथ अनिवार्य रहेको भन्दै वडा र पालिकाको पनि महत्वपूर्ण सहयोग र समन्य हुनुपर्ने बताए । यो सडक बनाउन पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलोखण्डको स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेको थियो ।
कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको हो । आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ ९भ्याटसहित० लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको हो । मुलपानी–रानीघाट सडकको दूरी १० किलोमिटरमध्ये मुलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।
आर्थिक वर्ष २०७६–७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर, प्रगति भने निराशाजनक छ । २०७६–७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलोखण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन ।
यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मंसिर २०८० सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्र भएको छ । प्रदेश सरकारले उक्त खण्डको निर्माणको काम अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानीखण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्नेछ ।