सुर्खेत – कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निशुल्क परिक्षणका साथै उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रमको सुभारम्भ भएको हो ।
आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ गरेका छन् । मन्त्री भण्डारीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुभारम्भ घोषणा गरेका हुन् ।
सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको घोषणा गरे । नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनिकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ प्रदेृश सरकार अघि बढेको मन्त्री भण्डारीको दावी छ । कार्यक्रममार्फत स्कृनिङ्ग गरिएको तथ्यांकको आधारमा भावि स्वास्थ्य रणनीति तय गर्न सघाउ पु¥याउने उनकोे अपेक्षा छ ।
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले यो कार्यक्रमको तथ्यांकपछि नसर्ने रोग सम्बन्धि नीति तथा कार्यक्रम बनाउन पालिकालाई पनि सहज हुने बताए । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको यो कार्यक्रमले ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न सहज हुने विश्वास व्यक्त गरिन । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने उनको भनाइ छ ।
यो कार्यक्रम गुमी स्वास्थ्य चौकीमा ३ दिनसम्म सञ्चालन हुनेछ । यसपछि १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । प्रत्येक जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गरेर निर्देशालयको व्यवस्थापनमा यस वर्ष स्वास्थ्य परीक्षणलाई बृहत बनाईने कार्यक्रमका फोकल प्रसन किरण शर्माले बताए । आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाइ छ ।
उनका अनुसार ७९ वटै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा ३ दिन ४० वर्ष माथिका नागरिकहरुको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ । स्कृनिङ्ग पश्चात देखापरेका नयाँ बिरामीहरुको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधीको सुचिश्चिततासँगै सम्बन्धित स्थानीयका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ ।
कार्यक्रम अन्तर्गत प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । यस्तै प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने फोकल पर्सन शर्माले बताए । उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ ।