सुर्खेत – नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ ।
एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनपरिचालन गर्ने उदेश्यले सभाको आयोजना गरिएको जनाएको छ । उक्त सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने भएका छन् । एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाका अनुसार मंगलगढी चोकबाट ¥याली सुरु भई पिपल चौतारामा जनजागरण सभाको आयोजना गरिएको छ ।
एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले भने, ‘राजावादी समूहले राजतन्त्र पुनस्र्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेको छ । यसबारे जनतालाई सचेत पार्दै उन्नत गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनजागरण सभाको आयोजना गरिएको हो ।’
उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि भन्दै एमालेले देशव्यापी जनजागरण अभियान संचालन गरिरहेको छ । सरकारमा रहेरपनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।
‘नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र स्विकार्य छैन’ एमाले केन्द्रिय सदस्य नवराज रावतले भने, ‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकारहरू संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशीविदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन् । यसप्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध जनजागरण अभियानमा जुटिरहेका छौं ।’
करिब १० हजार जनसमुदायको सभामा सहभागिता रहने एमाले सुर्खेतले जनाएको छ । जागरणसभामा समसामयिक राजनीतिक घटना र यसले सृजना गरेको परिस्थितिका बारेमा एमालेको धारणा बुभ्झ्न र लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउन सबै जनसमुदायलाई अपिल गरिएको छ ।