रुकुमपश्चिम – जिल्लामा अवैध रुपमा लगाईका अफिमका बोटहरु नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरी टोलीले आठबिसकोट नगरपालिका १२ ठुलीबार्खुमा लगाएको अफिमका बोटहरु नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका विभिन्न ८ स्थानको पाँच रोपनी जग्गामा गैरकानूनी रुपमा लगाएको लागुपदार्थ अफिमका बोटहरु पूर्ण रुपमा नष्ट गरिएको हो । फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरु प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा रहेका १० जनाको प्रहरी टोलीले नष्ट गरेको हो । अफिम गहुँखेतीको बिचमा र पाखो बारीमा लगाउने गरिएको पाईएको प्रहरीले जनाएको छ । रुकुमपश्चिमस्थित प्रहरीले विभिन्न समयमा अवैध रुपमा लगाईएको अफिम खेती फडानी गर्दै आईरहेको छ ।
सोहि टोलीले शुक्रबार आठबिसकोटका विभिन्न स्थानमा सुरक्षा गस्ती समेत गरेको छ । प्रहरी निरीक्षक पाठकले वडा नम्वर १२ को झिनचौरबाट सुरु गएको पैदल गस्ती ठुलीबार्खु, लामपुर्जा हुँदै वडा नम्वर १३ को मैराज्य, घेत्मा, भल्मसम्म पुगेको बताउनुभयो । करिब २४ किलोमिटरको दुरीसम्म पैदल गस्ती गरिएको प्रहरीको भनाई छ ।
यस क्रममा शान्ती सुरक्षा र अपराधिक गतिविधि नियन्त्रण सम्बन्धि जनप्रतिनिधि र स्थानीयवासीहरु अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियाको क्रममा सुझाव संकलन समेत गरिएको थियो ।