सुर्खेत – स्थानीय तहमा महिलाहरुको राजनीतिक सहभागीता बढाउन सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला स्तरको मिडिया अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
दलित महिला केन्द्र नेपालको समन्वय तथा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा संचालन भएको तालिमका सहभागीले महिलाको राजनीतिक सहभागीता बढाउनुुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले राजनीतिमा लागेर सफल नेतृत्व गरेका महिलाको सफल स्टोरी लेखनमा जोड दिनुपर्ने बताइन् । नेतृत्व पाएर पनि काम गर्न नसकेका महिलालाई काम गर्नका लागि झकझक्याउने काम पनि मिडियाको रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘नेतृत्व पाएर पनि महिलाले काम गर्न नसक्नुको कारण खोज्ने, काम गर्ने वातावरण मिलाउन भुमिका खेल्ने काम पनि मिडियाले गर्न सकिन्छ । कानुनले दिएका आरक्षणको पदमा मात्रै महिला सिमित भए कि ? माथिल्लो नेतृत्वमा पुग्न के अप्ठ्यारा छन् ? यस्ता बिषयमा खोजि गरौ र आगामी विकल्प खोजौ । महिलाले काम गर्न नसक्ने होईन तर काम गर्ने वातावरण छ कि छैन ? भन्ने कुरा महत्वपूर्ण हो ।’
वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले पहिलेको तुलनामा अहिले महिलाको राजनीतिक पहुँच बढेको उल्लेख गर्दै प्रयाप्त नभएको बताए । उनले भने, ‘हाल घरदेखि देश चलाउने अवसर महिलाले पाएका छन् । तर बोलिमा मात्रै होईन दलहरूले व्यवहारमा पनि लागू गरेर राजनीतिमा महिला सहभागीता बढाउन पर्छ ।’
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले राजनैतिक भातृ संगठनको झल्को देखिने गरि समाचार नलेख्न सबैलाई अनुरोध गरे । उनले भने, ‘महिलालाई राजनैतिक नेतृत्वमा सहभागीता बढाउन सहयोग मिल्नेगरि समाचार लेखनबाट मिडियाले साथ दिनुपर्छ ।’
द एसिया फाउन्डेसनका विशाल आचार्यले समाजमा पछि परेका वर्गका महिला राजनीतिक नेतृत्वमा पुग्न कठिन रहेको औंल्याए । पार्टीका अधिवेशन र निर्वाचनमा महिला सहभागीता बढाउन संविधानले सुनिश्चित गरेको कानुनी अधिकार कार्यान्वयन गरे पुग्ने उनको भनाइ छ ।