सुर्खेत – प्रदेश सरकार गठनपछि २०७४ फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा ग¥र्यो । त्यसको २ वर्षपछि २०७६ पुस ९ गते कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले कर्णालीलाई २ वर्षभित्रमा अर्गानिक प्रदेश बनाउने निर्णय ग¥यो ।
उक्त घोषणा र निर्णयको कार्यान्वयनका लागि प्रदेशसभाको पहिलो कार्यकालमै कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ समेत पारित भयो । तर रासायनिक बिषादी प्रयोगको बिगबिगी भने रोकिएको छैन । पूर्वतयारी बिनै अर्गानिक प्रदेश घोषणा गरिनु, कर्मचारी अभाव, टुक्रे बजेटलाई प्राथमिकता, लगानीमैत्री वातावरण नहुनु, रासायनिक मल तथा विषादीको विकल्प नहुनुलगायत कारण यो अभियान कार्यान्वयनमा सकस परेको छ ।,
प्रदेश सरकारले यो अभियान सुरु गरेपछि माथिल्लो कर्णालीका ५ जिल्लामा रासायनिक मल र विषादीमा प्रतिबन्ध लगाएको छ । तर लुकिछिपि कृषकले बिषादी प्रयोग गर्नेगरेका छन् । भने तल्लो कर्णालीका ५ जिल्लामा बिषादी प्रयोग बढ्दो क्रममा छ । जसले गर्दा अर्गानिक प्रदेश अभियानमा समेत चुनौती थपिएको छ ।
पछिल्लो समय अर्गानिक अभियान कार्यान्वयनका लागि सरोकारवाला निकायले बिषादी न्यूनिकरणमा जोड दिएका छन् । सोमबार वीरेन्द्रनगरमा सम्पन्न रासायनिक बिषादी न्यूनिकरण सम्बन्धि सचेतनामूलक गोष्ठिमा सहभागि कर्णालीका कृषकहरुले पनि अबदेखि बिषादी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । गोष्ठि एकिकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको आयोजनामा सम्पन्न भएको हो ।
प्रयोगशाला प्रमुख तथा वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायाले बिषादी प्रयोगका नकरात्मक असर र यसको विकल्पको बारेमा किसानहरुसँग छलफल भइरहेको बताए । खाद्य तथा तरकारी र फलफुल बालीमा बिषादी प्रयोग गर्ने विधि र सेवन गर्ने तरीका नजान्दा क्यान्सर, ब्लड प्रेशर लगाएतका घातक नसर्ने रोग बढेको उनको दावी छ ।
‘बिषादी बढि प्रयोग हुने जिल्ला तथा क्षेत्रहरुलाई रेड, ग्रिन र एलो जोन गरी ३ भागमा विभाजन गरेका छौं’ उनले भने, ‘सोही अनुसार बिषादी प्रयोगलाई घटाउने रणनीति भइरहेको छ । जसका लागि कृषक सचेतनासँगै जैविक बिषादी बनाउने तरीका सिकाइदैछ ।’
कृषि तथा पशुपन्क्षी व्यवसाय प्रर्वद्धन प्रशिक्षण केन्द्र सुर्खेतका प्रमुख दिपक भण्डारीले प्रांगारिक खेती महंगो भएपनि स्वास्थ्यलाई फाइदाजनक रहेको बताए । ‘जानीजानी बिषादी प्रयोग गरेर बिष सेवन नगर्न नगराउन अनुरोध छ । यसले आफ्नोसँगै उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर गर्छ’ उनले भने, ‘विस्तारै बिषादी प्रयोगलाई घटाऔं । जैविक बिषादी प्रयोग बढाऔंं । अर्गानिक प्रदेश कार्यान्वयनमा नैतिक दवाव आएको छ । सबै मिलेर हातेमालो गरौं ।’
कर्णालीका पहाडी जिल्लामा बर्सेनि झन्डै ४ हजार मेट्रिक टन बढि रासायनिक मल गइरहेको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका सचिव प्रसुराम रावतले अर्गानिक प्रदेशको निर्णय कार्यान्वयनका लागि रैथाने बाली संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको बताए ।
‘अर्गानिक अभियान प्रदेश सरकार एक्लैले कार्यान्वयन गर्न संभव हुदैन । यसमा सबैले सहयोग गरौं’ उनले भने, ‘सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा स्थापना भएका बिषादी प्रयोगशाला पनि संचालनमा ल्याउने प्रयास भइरहेको छ ।’
उनका अनुसार कर्णालीको रैथाने बालीबाटै कर्णालीवासीलाई आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रम अवलम्वन गरिएको छ । सबै जिल्लामा रैथाने बाली प्रवद्र्धन कार्यक्रम लागू भएको छ । किसानलाई उत्पादनका आधारमा अनुदान दिने, रैथानेबालीको खेतीदेखि उत्पादन र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम पनि स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ ।
प्रदेशभित्रै अर्गानिक र जैविक मलको उत्पादनका लागि सबै किसान समूहलाई तालिम दिने, जैविक मलमा अनुदान दिने र आवश्यक कच्चा पदार्थ खरिदका लागि सहजीकरण गर्ने काम जारी छ । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार ३ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीयोग्य जमिनमा ३ लाख २६ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
कर्णालीमा संघीयताअघि नै अर्गानिक कृषिको अभियान सुरु गरिएको थियो । जुम्लालाई साविक जिल्ला विकास समितिको १५ औं जिल्ला परिषद्ले २०६६ सालमा जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो । त्यसयता जुम्लामा अभियानकै रूपमा स्याउलगायत तरकारी बालीमा विषादी प्रयोग गर्न थालिएको थियो ।
कर्णालीमा खाद्यान्नसँगै तरकारीको पनि ठूलो परनिर्भरता छ । जसका कारण पनि अर्गानिक कर्णाली अभियान कार्यान्वयनमा ठूलो चुनौती देखिएको छ ।
विषादीमुक्त सप्ताह मनाइदै
कर्णालीमा आगामी चैत ३ गतेदेखि ९ गतेसम्म रासायनिक विषादीमुक्त सप्ताह मनाइदै छ । यो सप्ताह कार्यक्रमलाई हरेक पालिकामा पनि लागु गर्नुपर्ने वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायाको भनाइ छ ।
उनका अनुसार विषादीको प्रयोगलाई घटाउन जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह मनाउने तयारी भइरहेको छ । सप्ताहव्यापी कार्यक्रममा जनचेतनामूलक प्रचारप्रसार, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने उनले बताए । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कृषि विज्ञ वेदप्रसाद चौलागाईले पछिल्लो समय क्यान्सर, मुटु, मिर्गौलाका बिरामी बढ्दै गएको उल्लेख गर्दै यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको दावी गरे । कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँ–गाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेश बनाउन सके देशलाई नै सिकाइ हुने उनको भनाइ छ ।
तरकारीमा प्रयोग भएको विषादीले मन्द विषको काम गरिरहेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार विषादी प्रयोग भएको तरकारी तथा फलफूल खाएमा तत्काल शरीरमा कम्पन, झाडापखाला, मूच्र्छा पर्नेलगायत समस्या देखा पर्छन् । भने दीर्घकालीन रूपमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपनलगायत समस्या देखिने गरेको छ ।