सुर्खेत – कर्णालीमा १ वर्षमा ४ हजार ४३७ जनाले बसाइँसराइ गरेका छन् । सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गर्ने क्रम बढेको हो ।
खानेपानी, शिक्षा, वातावरणलगायत अत्यावश्यकीय सेवासुविधाको अभाव भएपछि सहजता खोज्दै कर्णालीका ४ हजार ४३७ जना नागरिकले एक जिल्लाबाट अर्को जिल्लामा बसाइँसराइ गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सन् २०२४ मा गरेको सर्भेक्षण अनुसार नेपालमा विभिन्न जिल्लाबाट बसाइँ सर्नेको सङ्ख्या १ लाख ५० जार ८४५ जना रहेको छ । जसमा कर्णाली प्रदेशमा मात्रै ४ हजार ४३७ जनाले बसाइँसराइ गरेका हुुन् ।
बसाइँसराइ गर्ने प्रमुख कारणमा हिमाल र पहाडबाट तराईतिर वा प्रदेश राजधानीतिर झरेको पाइएको छ । इन्सेक कर्णाली प्रदेशका अनुसार खाद्यान्न अभाव, विकास र सेवासुविधाको चाहना, सन्तानको उज्ज्वल भविष्यको अभिरुचिले गर्दा पहाडबाट तराई र सदरमुकामतिर बसाइँ सर्ने क्रम बढेको हो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट जिल्लाबाटमा बसाइँसराइ बढी भएको बताए । उनका अनुसार सुर्खेतमा १ हजार २४०, दैलेखमा १ हजार, सल्यानमा ७१६, जाजरकोटमा ५१०, कालीकोटमा २९३, रुकुमपश्चिममा २८४, जुम्लामा २३९, मुगुमा ११८, हुम्लामा २२ र डोल्पामा १५ जनाले बसाइँसराइ गरेका छन् । उचित शिक्षा तथा खाद्यान्न उत्पादनबाट वञ्चित भएपछि थाततलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् ।
इन्सेकले यस वर्षदेखि पहिलो पटक बसाइँसराइ लगायतलाई पनि वातावरणीय अधिकारमा राखेर सर्भेक्षण गरेको छ । यसरी बसाइँ सर्नुपनि मानव अधिकारको उल्लङ्घन भएको संयोजक सुुवेदीको भनाइ छ । वातावरणीय अधिकारमा बसाइँसराइ, वायु प्रदूषण, खानेपानी, सार्वजनिक शौचालय जस्ता विषय उल्लेख छन् । कर्णालीमा झन्डै आधा जनसङ्ख्या खानेपानीको पहुँचको अभावमा रहेको उल्लेख छ ।