सुर्खेत – प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यान क्षेत्रमा फेरी अर्को ताल निर्माण गर्न लागिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो ।
मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले ताल निर्माण कार्यको शिलान्यास गरेका छन् । ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । कामको जिम्मा लिएपछि समयमै गर्न सुुझाव दिदै भुक्तानीका लागि कुनै समस्या नरहने स्पष्ट पारे । उद्घाटन तामझामका साथ गर्ने तर काम समयमा नहुने चलन रहेको भन्दै यस्तो समस्याबाट मुुक्त हुुनुुपर्ने उनको भनाइ छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख ३६ हजार लगानीमा ताल निर्माण गर्न लागिएको हो ।
२०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी प्रवीन निर्माण सेवाले ताल बनाउने जिम्मा लिएको छ । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाउने लगायतका काम गर्नेछ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईँका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्न ताल निर्माण गर्न लागिएको हो । यसअघि निर्माण भएको तालसँगै जोड्ने गरी अर्को ताल निर्माण गर्न थालिएको हो । यसअघिको तालमा डुंगा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ ।
बुलबुलेमा विभिन्न प्रजातिका चराहरु आउँछन्, मान्छेको आवात–जावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन् । जाडो याममा साइबेरियन चराहरु बुुलबुुले आउने गरेछन् । यो ताल निर्माणपछि चराहरुलाई बासस्थानमा पनि सहज हुने अपेक्षा लिइएको छ । ताल ४ हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ ।