लिमीका किशोरीलाई बैशाखमा एचपीभि खोप लगाइने

हुुम्ला – जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीका किशोरीलाई आगामी बैशाखमा एचपीभि खोप लगाइने भएको छ । चिसोका कारण हाल विद्यालय बन्द रहेको र अधिकांश किशोरी जिल्ला लिमी क्षेत्रमा नरहेका कारण बैशाखमा खोप अभियान संचालन गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय हुुम्लाका अनुसार लिमी बाहेक जिल्लाभर यही फागुन १८ गतदेखि २९ गतेसम्म खोप अभियान संचालन हुनेछ । एचपीभि खोप अभियानबारे आइतबार सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।

जिल्ला खोप समन्वय समितिका प्रमुख प्रेम पाण्डेयका अनुसार एचपीभि खोप जिल्लाका कक्षा ६ देखि १० सम्मअध्ययनरत छात्रा र विद्यालय नजाने १० बर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाइने भएको हो । जिल्लाका सातवटा गाउँपालिकाका ९९ खोप केन्द्रबाट ३ हजार ७३६ जना किशोरीलाई खोप लगाइने उनले बताए ।

कार्यालय प्रमुख प्रतिक्षा भारतीले उक्त खोप केन्द्रका लागि ९९ जना स्वास्थ्यकर्मीका साथै १९८ जना स्वयमंसेवक खटाइने बताइन् । प्रमुख जिल्ला जिल्ला अधिकारी नारायण पाण्डेयले यो अभियानबाट हुम्लाका तोकिएका उमेर समुहका किशोरीलाई छुटाउन नहुने बताए ।

यो खोप अभियान देशभर सम्पन्न भएपनि हुम्लामा भौगोलीक विकटका कारण ढिलाई भएको हो । जिल्लामा चिसो मौसमका साथै विद्यालय जाने किशोरीलाई खोप लगाइने भएकाले विद्यालय हिउँदे विदामा रहेका छन् । जसले गर्दा विद्यालय संचालनमा आएपछि मात्रै खोपा अभियान सुरु गर्ने तयारी गरिएको हो ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । भने एक दिनमा ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताइन्छ नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको छ । देशभर गएको माघ २२ गतदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेरसमुहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभ खोप लगाइएको छ ।