सुर्खेत – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको त्रिदेशीय मार्ग कर्णाली करिडोर अब कालोपत्रे हुने भएको छ । करिडोर कालोपत्रे लागि पहिलो पटक ठेक्का समेत आव्हान भएको छ ।
सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि ठेक्का आव्हान गरेको हो । कार्यालयले २ खण्ड गरेर ठेक्का दिने भएको छ । कार्यालय प्रमुख तुलाराम शर्माका अनुसार बाजुराको पिलिचौरदेखी बाजुराको कुवाडी सम्म २३ किलोमिटर ७०० मिटर र कुवाडीदेखी हुम्लाको सर्केगाँड गाउँपालिका १, तुम्चासम्म २७ किलोटिमर ३०० मिटर गरी २ खण्डमा ५० किलोमिटर कालोपत्रे गरिने भएको छ । जसका लागि ४ अर्ब २३ करोडमा ठेक्का आह्वान गरिएको हो ।
अबको ३ वर्षमा काम सक्ने गरी ठेक्का आव्हान भएको छ । कर्णाली करिडोरको यो क्षेत्र कालिकोटको खुलालुदेखी बाजुराहुदै हुम्लाको सरिसल्लासम्म १ सय २३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो । अब अर्को वर्ष कालिकोटको खुलालुदेखी बाजुराको पिलिचौरसम्म ६० किलोमिटरको ठेक्का गर्ने तयारी छ ।
गतवर्ष ६० किलोमिटर सडक सुधारका लागि ठेक्का गरेर काम भइरहेकाले यो वर्ष अगाडिको भाग कालोपत्रेका लागि ठेक्का गरिएको हो । यो सडक खण्डको बाँकि रहेको हुम्लाको तुम्चादेखी सरिसल्लासम्मको १३ किलोमिटरको पनि ठेक्का आगामि वर्षमा गर्ने कार्यालयले जनाएको छ । यो सडक सरकारले गौरबको आयोजनासँगै त्रिदेशीय मार्गका रुपमा लिएको छ । यो मार्गले दक्षिणमा भारत र उत्तर–पश्चिममा चीनलाई छुने भएको छ ।
यो सडक २०६४ सालमा कालिकोट—हुम्ला—जुम्ला सडक आयोजनाले शुरु गरेको थियो । काममा ढिलासुस्ति हुने भएपछि यो सडक निर्माणको जिम्मा नेपाली सेनालाइ दिइएको थियो । सेनाले २०७१ सालको चैत महिनाबाट काम सुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो ।
ट्रयाक खोलीसकेपछि सेनाले२०८० पुष १५ गते सडक बिभागलाई कालिकोट खुलालुदेखी ११२ किलोमिटर सडक जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिहेको छ । सडक विभागलाई सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तोरउन्नती सँगै कालेपत्रेको काम सुरु भएको हो ।
सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्ला, कालिकोट र बाजुराको बिचमा दर्जनौ चट्टान फोरिँदै छिचोलेर कर्णाली करिडोर सडक निर्माण गरेको छ । अहिलेपनि हुम्ला जाने एक मात्रा सडक यहि कर्णाली करिडोर हो । कर्णाली करिडोर सडकको निर्माण तथा स्तरउन्नोतीले गति लिएपछि हुम्ला, बाजुरा कालिकोट र मुगुका स्थानीयलाई सहज हुनेछ ।
चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ । विपन्नताले चौतर्फी निराशामा पारेको हुम्ला दक्षिणी भेग सहित कर्णाली क्षेत्रका वासीन्दालाई पछिल्लो समय यही सडक निर्माणको गतिले आशा जगाएको छ । यस सडकलाई बाँके तथा नेपालगञ्जको रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य रहेको छ ।
यो सडक मार्गबाटै सुुदुुरपश्चिम र कर्णाली प्रदेश क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास लिइएको छ । यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य हेतु यही सडक हुने देखिएको छ । सडकले तिब्वत स्थित मानसरोवर, कैलाश पर्बत, लिमि उपात्यका लगायतका क्षेत्रको यात्रालाई सहज बनाउने छ । भने करिडोरका बिचबिचमा कर्णाली नदि माथि निर्माणाधिन र निर्माण कार्य सम्पन्न भएका बेलिब्रिजले समेत रारा ताल जाने पर्यटकलाई सहज बनाइ दिनेछ ।