जाजरकोट भूकम्प: २ हजार परिवारले अझै पाएनन् पहिलो किस्ता

जाजरकोट – जाजरकोट केन्द्रविन्दु भएर अघिल्लो कात्तिकमा गएको भूकम्पबाट रुकुमपश्चिम बाफीकोट गाउँपालिकाका ३ हजार भन्दा बढी घरमा क्षति पुग्यो । भूकम्पबाट अधिकांशको घर संरचना पूर्णरुपमा क्षति पुग्यो भने बाँकी बचेका घर पनि बस्नलायक रहेनन्।

भूकम्पले क्षति पुगेका र जोखिमपूर्ण भएका परिवारलाई सरकारले अस्थायी आवासका लागि किस्ताबन्दी राहत उपलब्ध गराउने निर्णय गर्‍यो । तर, भूकम्पले क्षति पुगेको एक वर्ष नाघिसक्दासमेत कतिपयले अझै पहिलो अस्थायी आवासका लागि पहिलो किस्ता पनि पाउन सकेका छैनन् ।

बाफीकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगरका अनुसार अस्थायी आवासवापत २ हजार ६४१ जनाले दोस्रो किस्ता बुझिसकेका छन् । तर अझै ४ सय ४ जनाले भने पहिलो किस्ता पनि पाएका छैनन्। उनका अनुसार हालसम्म पहिलो किस्ता पनि नपाउने सबैभन्दा धेरै भूकम्प पीडित गाउँपालिकाको वडा नम्बर ९ मा छन् ।

बाफीकोट गाउँपालिका-९ का वडाध्यक्ष जोगबहादुर चन्दका अनुसार उनको वडाबाट मात्रै १९७ जनाले अस्थायी आवासका लागि पहिलो किस्ता पाउनै बाँकी छ । आवास निर्माणका लागि सरकारबाट पाउने राहत नपाउँदा अहिले पनि उनीहरु कोही आफन्तको भरमा त कोही चर्किएकै संरचनामा बस्न बाध्य भएको उनी बताँछन्।

‘वडाले गर्नुपर्ने समन्वय र ताकेता त गरिरहेको छ । तर, माथि ९संघीय सरकार० बाटै नआएको भन्ने जिल्ला विपद् व्यवस्थापन समितिले भनिरहेको छ’, वडाध्यक्ष चन्दले भने, ‘पहिलो किस्ता पनि नआउँदा धेरैजना चर्किएकै घरमा जोखिमयुक्त किसिमले बसिराख्नुभएको छ ।’

पालिका अध्यक्ष बाँठामगर अधिकांश पीडितले समयमै कागजात नबुझाउँदा सुविधा पाउन ढिलाइ भएको बताउँछन् । ‘धेरैले समयमै आफ्नो डकुमेन्ट बुझाउनु भएन । फेरि यसमा अनेक मिलाउनुपर्ने रहेछ । कहिले के नपुग्ने कहिले के नपुग्ने हुने रहेछ’, उनले भने ।

रुकुमपश्चिमकै त्रिवेणी गाउँपालिकाका पीडितले पनि भूकम्प गएको एक वर्ष नाघिसक्दासमेत अस्थायी आवासका लागि पूरा किस्ता पाएका छैनन् । पालिका अध्यक्ष गणेशकुमार केसीका अनुसार पालिकाका विभिन्न वडाका २ सय ४३ जनाले अस्थायी आवास बनाउन पहिलो किस्ता पनि नपाएका हुन् ।

पालिकामा अहिलेसम्म ४ हजार ७२५ जनाले पहिलो किस्ता बुझिसकेको र ४ हजार ३२८ जनाले दोस्रो किस्ता बुझेको पालिका अध्यक्ष केसीले अनलाइनखबरलाई बताए । ‘संघीय सरकारबाटै राहतवापतको सबै किस्ता आएको छैन । अहिले पनि आएको आएको छैन भन्ने सुनेका छौं । बुझिरहेका छौं’, उनले भने ।

२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा पनि प्रभावित भएको थियो । समयमै राहत नपाउँदा विभिन्न ठाउँका पीडितले बर्खा र हिउँदमा सास्ती खेपिरहेका छन् । भूकम्प गएको १६ महिनासम्म पीडितले पूर्ण राहत नपाउँदा आफूहरूले पनि प्रश्न खेपिरहेको जनप्रतिनिधि बताउँछन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार रुकुमपश्चिममा मात्रै २ हजार लाभग्राहीले अहिलेसम्म पहिलो किस्तावापतकै अनुदान रकम पाएका छैनन्। रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले लाभग्राहीले ढिलो गरी आवेदन बुझाउँदा अनुदान वितरणमा पनि प्रभावित हुन पुगेकझ बताए ।

उनका अनुसार दोस्रो किस्ताबापत निकासा भएपश्चात् बचत हुन आउने रकमलाई स्थानीय तहबाट सिफारिस भएबमोजिम लाभग्राहीलाई समानुपातिक रुपमा वितरण गर्ने र अपुग रकम प्राधिकरणसँग माग गर्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको छ ।
पहिलो किस्तासमेत प्राप्त गर्न नसकेका २ हजार एक लाभग्राहीसहित जिल्लामा कुल ३४ हजार ९९७ लाभग्राही कायम भएका छन् । जिल्लामा यसअघि ३२ हजार ९९६ लाभग्राहीलाई मात्र पहिलो किस्ता वितरण भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विपद् पोर्टलमा इन्ट्री भएका जिल्लाका ३२ हजार ९९६ लाभग्राहीका लागि पहिलो र दोस्रो गरी दुवै किस्ता प्राप्त गरिसकेका छन्

त्यसमध्येमा जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमार्फत स्थानीय तहबाट ३१ हजार ८८१ लाभग्राहीलाई मात्र दोस्रो किस्ता वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले पछिल्लो पटक स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट रितपूर्वक माग भई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा माग हुन आएका १५ हजार ८८१ लाभग्राहीका लागि जिल्ला विपद् कोषबाट स्थानीय विपद् कोषमा निकासा भएको ३९ करोड ९७ लाख २५ हजार रुपैयाँ रकमलाई अनुमोदन गरेको उनले बताए ।

यसअघि १६ हजार लाभग्राहीका लागि २५ हजारका दरले रु ४० करोड निकासा भई वितरण भइसकेको थियो । योसँगै जिल्लामा कायम भएका ३२ हजार ९९६ लाभग्राहीले अस्थायी आवासका लागि पहिलो र दोस्रो किस्ताबापतको रकम प्राप्त गरेका छन् ।