कर्णाली उत्सव : राजनीतिमा रहरले आउने की लहडले ? के भन्छन् नेताहरु !

सुर्खेत – राजनीतिमा रहरले आउने की लहडले ? पत्रकार सुधीर शर्माको प्रश्नमा नेताहरुको जवाफ थियो, राजनीतिमा आउनुमा कुनै खास परिस्थिति कारक हुन्छ, रहर, लहडले भन्दापनि आत्मबोधले काम गरेको हुन्छ । रहर गर्नु पनि गल्ती होइन् । राजनीतिमा टिकाइराख्न सक्नु व्यक्तिमा भर पर्छ ।
बुधबार वीरेन्द्रनगरमा सञ्चालित कर्णाली उत्सवको अन्तिम दिन राजनीति ः रहर लहड सेसनमा पत्रकार शर्मासंग संवादमा थिए, एमाले सचिव एवं सांसद योगेश भट्टराई, कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बे, माओवादी केन्द्रका नेता एवं सांसद रेखा शर्मा र रास्वपाका सांसद शिशिर खनाल ।

एमाले नेता भट्टराईले लोकतन्त्रको उपलब्धी भनेकै स्वतन्त्रता भएकाले यसको अर्को विकल्प नभएको बताए । ‘हिजो कर्णालीले आलोचना गर्न जान्दैन्थ्यो, आज मजाले आलोचना गर्न सक्छ, यो व्यवस्था त लोकतन्त्रले ल्याएको हो नि, यसको श्रेय त बहुदलीय व्यवस्थालाई जान्छ’ उनले भने ।

सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकका विषयमा सबै दलबीच राष्ट्रिय सहमति जुटेको दाबी गरे । ‘अहिले समाजमा जुन खालको भ्रम छ, त्यो अनुसारको व्यवस्था विधेयकमा छैन् आजको सरकारले आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खाँदैन, यो विधेयक जस्ताको तस्तै पास हुन्छ भन्ने पनि छैन, नचाहिँदो कानुन संसदले बनाउँदैन् सांसद भट्टराईले भने, हामी सांसदहरुले पनि आफ्नो विवेक प्रयोग गर्छौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा आफ्नो समर्थन नहुने धारणा राखिन् । उनले भनिन्, ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन्, आवश्यक परे विधेयकलाई पुर्नलेखन गर्नुपर्छ ।’ कांग्रेस नेता आङ्दम्बेले छलफल भएर नै विधेयक पारित हुने बताए । रास्वपा सांसद खनालले रास्वपालाई कुनै भिजन नभएको भनेर गलत भाष्य सिर्जना खोजिएको बताए ।