सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकारले सदनलाई अवमूल्यन गरेर ल्याएको अध्यादेश गलत रहेको बताए ।
‘अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन,’ उनले भने ‘सरकारमा रहेकाहरूमा दुईतिहाइको अहंकार थियो । राष्ट्रिय सभामा त्यसको राम्रो जवाफ दिएको छ ।’
सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटो सरकारले रोजेको भन्दै प्रचण्डले बहुमतले पेलेर जान सक्ने अवस्था नरहेको जिकिर गरे । माओवादीले अध्यादेशमा नसघाउने स्पष्ट पार्दै उनले अध्यादेशको भविष्य जसपा नेपालको निर्णयमा भर पर्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले देशलाई झन् ठूलो आर्थिक संकटतिर धकेलेको दावी गरे ।