सञ्चालनमा आएन नेपाल-चीन जोड्ने हिल्सा मितेरी पुल

हुम्ला । नेपाल र चीनको सीमाना हिल्सामा चिनियाँ सरकारको तर्फबाट पक्की मितेरी पुल निर्माण भएको छ । काम सुरु भएको ८ महिनामै हिल्सा नाकामा मितेरी पुल निर्माण भएको सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ पक्षले गत असारदेखि काम सुरु गरेको थियो । चिनीयाँ पक्षले रात दिन गरी तीन सिफ्टमा पुल निर्माणको काम गरेको कारण पक्की पुलको निर्माण कार्य छोटो समयमै पूरा भएको नेपालीले बताए ।

तोकिएको समयअगावै पुल बने पनि सञ्चालनमा भने आएको छैन । बेलबहादुर नेपालीका अनुसार हाल चिनियाँ पक्षले नेपालतर्फको एप्रोज सडक निर्माण कार्य गरिरहेकाले सञ्चालनमा आउन केही ढिलाइ भएको हो ।

नेपालतर्फको पुलको छेउबाट २ सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता छ । सोही डिजाइनअनुसार सडक निर्माण गर्न भने नेपालतर्फको संरचना वाधक बनेको छ । हाल नेपाली भूभागमा शौचालय, हेलिप्याड लगायतका संरचना भएको कारण सो सडक निर्माण भने हुन सकेको छैन ।

नेपालीका अनुसार चिनियाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरिएको भएपनि त्यो हुन नसकेको कारण सडक निर्माण हुन नसकेको हो । नेपालतर्फको सडक सडक विस्तारमा सार्वजनिक तथा भौतिक संरचना नै भत्काउनुपर्ने भएकाले हालको डिजाइन नै परिवर्तन गर्ने तयारीमा लागिएको छ ।

नेपालीका अनुसार अहिलेको डिजाइन अनुसार पुलबाट सडक निर्माण गर्दा हिल्सामा नेपाली सार्वजनिक संरचना र व्यक्तिगत भौतिक संरचना भत्काउनुपर्ने हुन्छ । उनले त्यसका लागि सडकको डिजाइन परिवर्तनका लागि जिल्लामा सर्वपक्षीय बैठकले अनुरोध समेत गरेको बताए।

१४६ मिटर लम्बाइ रहेको सो मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिन माथि निर्माण गरिएको छ ।