
कर्णाली प्रदेशमा पछिल्लो समय कृषि बालीले ढाकेको क्षेत्रफलमा वृृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको देखाएको छ । प्रमुख बालीमध्ये आर्थिक वर्ष २०८०/०८१ मा धान बालीले ढाकेको क्षेत्रफल ८.४८ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल २.१२ प्रतिशतले बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
त्यस्तै, कर्णालीका प्रमुख बाली मध्येका गहुँ, कोदो, जौ र फापर खेतीले ढाकेको क्षेत्रफलमा भने कमी आएको पाइएको छ । जसमा गहुँले ढाकेको क्षेत्रफल ०.९७ प्रतिशत, कोदोले ढाकेको क्षेत्रफल २८.१६ प्रतिशत, जौले ढाकेको क्षेत्रफल ३३.३० प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफलमा २३.०१ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । तरकारी र बागवानी बालीले ढाकेको क्षेत्रफलमा भने वृद्धि भएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार तरकारी बालीले ढाकेको क्षेत्रफल ३६.४० र बागवानी बालीले ढाकेको क्षेत्र ५.९८ प्रतिशतले बृद्धि भएको छ । यस आर्थिक वर्षमा प्रदेशभर समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान १२.०४, गहँुको उत्पादन ०.४३ प्रतिशतले बृद्धि हुँदा मकै, कोदो, जौ र फापरको उत्पादनमा भने ह्रास आएको छ । जसमा मकैमा ७.६१, कोदो १९.८७, जौ १८.९८ र फापरमा ८.४६ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०-०८१ मा कर्णाली प्रदेशभर दूध उत्पादन ७.८२ प्रतिशतले बढेको छ भने, माछा, मासु र अण्डा उत्पादनमा वृद्धि भएको छ । जसमा माछा ३.३४ प्रतिशत, मासु ६.५८ प्रतिशत, र अण्डा ०.९० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले जानकारी दिए । यसमा सहुलियतपूर्ण कर्जा प्रवाह नभएकाले घटेको देखिएपनि समग्रमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा सकरात्मक रहेको उनले बताए ।