एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशन कात्तिक २६ र २७ मा

सुर्खेत – नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन कात्तिक २६ र २७ गते हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष माधव नेपालले उद्घाटन गर्ने तय भएको छ ।

सुर्खेतको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको सिद्धार्थ सभागृह, शनि हललाइन वीरेन्द्रनगरमा हुने अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने कर्णाली प्रचार विभाग प्रमुख वसन्तकुमार विश्वकर्माले बताए ।

प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट भइसकेको उनले बताए । उनका अनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालीकोटबाट ४१, मुगुबाट ४१, डोल्पाबाट २८, जाजरकोटबाट २९ , रुकुम पश्चिमबाट १८, सल्यानबाट ४९, जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी ३०४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशीतर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने उनले बताए ।